दैनिकी काम गरेर गुजारा चलाउन परदेश भारत गएका सात जना नेपालीको दुर्घटनामा परेर ज्यान गएको छ

२८ चैत धनगढी
दैनिकी काम गरेर गुजारा चलाउन परदेश भारत गएका सात जना नेपालीको दुर्घटनामा परेर ज्यान गएको छ । भारतको उत्तराखण्ड नैनिताल जिल्लाको बेतालघाटमा जिप दुर्घटना हुँदा सात नेपाली र एक भारतीय नागरिकले मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार चालक भारतीय नागरिक राजेन्द्र कुमार सहित सात नेपालीको मृत्यु भएको छ । बेतालघाट थाना इन्चार्ज अनिस अहमतले एक महिनादेखि मजदुर गर्दै आएका ९जना नेपाली एक साथ जिप बुकिङ्ग गरेर घर फर्किने क्रममा एक्कासी दुर्घटना परेर ७ नेपालीको मृत्यु र २ नेपाली घाईते भएको बताए । घटना स्थलदेखि झण्डै १८ किलोमिटर पुर्व मल्लागाँउ उच्चाकोटमा खानेपानी आयोजनाको पाईप बिछ्याउने काम सकेर घर फर्किन लागेका नेपाली चढेको यूके ०४सिसी ०४९५ नम्बरको जिप दुर्घटनामा परेको बताए ।

‘सबै नेपाली मजदुर घर फर्किने बेला आ–आफ्नो समान जिपमा राखे, समान राखेको केही समयमै भिरमा गाडी खस्यो, ‘उनले भने, ‘दुर्घटनाको कारण अझै खुलेको छैन ।’ भारतीय प्रहरीले भने भिरमा रोकिएको गाडी नियन्त्रण हुन नसकेपछि खसेको अनुमान गरेको छ ।

‘म घटना स्थल पुग्दा कोही घाईते थिए, कोही मरिसेका थिए, मैले एम्बुलेन्स बोलाएर सबैलाई अलग अलग अस्पताल पठाएका थिए, ‘भोलीपल्ट अस्पतालमा बुझ्दा सात नेपाली र चालक भारतीको मृत्यु भएको रहेछ ।’ बेतालघाटका थाना इन्चार्ज अहमतका अनुसार दुर्घटनामा ज्यान गुमाएका धिरज चौधरीको मृत्यु भएको र उनकी श्रीमती शान्ति चौधरी घाईते भएकी छिन । श्रीमान–श्रीमती नै रोजगारीका लागि आएका थिए । श्रीमान गुमाएकी घाईते शान्ति चौधरी र अर्का घाईती जनक चौधरीको तिवारी राजकीय अस्पताल हलद्धानीमा उपचार भईरहेको छ । अन्य मृतकको शव पोष्टमाष्टका लागि डिएसबी अस्पताल नैनितालमा राखिएको छ । भारतको नैनिताल जिल्ला प्रशासनले कञ्चनपुर सहितका नेपाली प्रशासनलाई उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा बाँके–बर्दियाका नेपाली नागरिक रहेका छन । चाँदनीचोक थोपुवा बाकेका ४० बर्षिया अन्तराम चौधरी, सोही गाँउकै ३० बर्षिया बिनोद चौधरी, चाँदनी चोक फत्तेपुर बाकेका ५० बर्षिया बिश्राम चौधरी, ७० बर्षिया उदय चौधरी, धिरज चौधरी र चाँदनीचोक समजोना बाँकेका ४१ बर्षिया तिकल चौधरी, बबई बाँसवारी बर्दियाका गोपाल बस्नेत रहेका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले भारतमा भएको दुर्घटनामा परेर मृत्यु भएका नेपाली कञ्चनपुरमा नभएको बताए । ‘घाईतेहरुले जे जे लेखाए त्यही विवरण राखेको जस्तो छ, ‘प्रजिअ अधिकारीले भने, ‘यताबाट प्रारम्भिक रुपमा आएको विवरण अनुरुप मृतक बाँके, बर्दियाका रहेका छन ।’

नयाँ बर्ष ०८१मनाउनका लागि घर फर्किन लागेको अवस्थामा डेढसय मिटर तल जिप खसेर सात नेपाली विचबाटैमा अस्थाएका छन । गुजारा चलाउन श्रीमान श्रीमतीदेखि जेष्ठ नागरिक नै भारत पसेका थिए । घटना पछि स्वदेशमै रोजगारीको प्रबन्ध गर्नुपर्नेमा जोडदिईएको छ । चुनावका बेला राजनीतिक दल तिनका नेताहरुले स्वदेशमै रोजगारीका चर्का चर्का भाषण गरिबलाई आश्वासन बाँड्ने प्रवृति नरोकिएपछी गुजारा चलाउन परदेश पस्नेहरुको समेत संख्या नरोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply