नुवाकोटमा एक जना पुरूषको हत्या

वैशाख ३ धनगढी
नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ।

ककनी गाउँपालिका वडा नम्बर २ ठूलोचित्रे स्थित ३० वर्षीय मंगले तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।

मंगलेको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट फेला परेको हो।

उनको हत्या आरोपमा प्रहरीले सोही घरमा बस्ने ६५ वर्षीय डम्बरबहादुर तामाङलाई पक्राउ गरेको डिएसपी भारतीले बताए।

हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो। उक्त घटनामा शंकास्पद देखिएपछि प्रहरीले डम्बरबहादुरलाई घर नजिकैबाट पक्राउ गरेको हो।

डिएसपी भारतीका अनुसार मृतक मंगले सोही गाउँका हुन्। आइतबार राति मापसे गर्न डम्बरबहादुरले मंगलेलाई आफ्नो घरमा बोलाएका थिए। उनीहरू दुबै जना मजदुरी गर्थे।

राति करिब सवा १० बजेतिर उनीहरू दुई जनाबीच विवाद भएको थियो।

‘दुबैले मापसे गरेका रहेछन्। पूरानो रिसिइबी पनि रहेछ,’ डिएसपी भारतीले भने, ‘विवादकै क्रममा खुर्पाले हिर्काएको अनुसन्धानबाट देखिन्छ।’

उनका अनुसार पक्राउ परेका डम्बरबहादुरका छोराको पनि केही वर्षअघि हत्या भएको अनुसन्‍धानबाट खुलेको छ। हत्या गर्ने व्यक्ति मंगलेका आफन्त भएको र ती आरोपी पनि कारागारमा रहेको डिएसपी भारतीले बताए।

‘पहिले हत्या भएको घटनासँग पनि सम्बन्धित भएको हुनसक्छ। मृतकका आफन्तले आफ्नो छोराको हत्या गरेको भन्ने कुरा खुलेको छ। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply