८ अर्ब रूपैयाँ कारोबार गर्ने वाइवाइले सन् २०२६ सम्म सेयर

वैशाख ४ धनगढी
वाइवाइ चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले सन् २०२६ भित्रमा प्राथमिक सेयर निष्कासन (आइपीओ) जारी गर्ने सोच बनाएको छ।

चौधरी समूहको मुख्य लगानी रहेको सिजी फुड्सले नेपाल र भारत दुवै मुलुकमा एकै वर्ष आइपीओ निकाल्ने गरि तयारी गरिरहेको हो।आइपीओ निकाल्न लागिएको जानकारी चौधरी समूहका अध्यक्ष विनोद चौधरीका छोरा निर्वाण चौधरीले टिवट् (एक्स) मार्फत जानकारी गराएका थिए।

उनले टिवट् गर्दै लेखेका छन्,’तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं’ उनले लेखेका छन्, यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौ‌ं।’

कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा सन् २०२६ सम्म आइपीओ निकाल्ने गरि तयारी भइरहेको पुष्टि गरे।

आइपीओ जारी गर्ने भनिएको सिजी फुड्सले नेपालमा वार्षिक ८ अर्ब रूपैयाँ बराबरको कारोबार गरिरहेको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार आर्थिक वर्ष २०७८-७९ असारसम्म कम्पनीको बिक्रीबाट भएको आम्दानी ८ अर्ब एक करोड ५० लाख रूपैयाँ छ। यो अघिल्लो वर्षको भन्दा १०.७९ प्रतिशतले धेरै हो।

अघिल्लो वर्ष कम्पनीको वार्षिक कारोबार सात अर्ब २३ करोड थियो। त्यस अघि आर्थिक वर्ष २०७६-७७ मा कम्पनीले ५ अर्ब ६६ करोडको कारोबार गरेको थियो।

सिजी फुड्स सन् १९८४ देखि व्यवसायिक सञ्चालनमा आएको हो। कम्पनीबाट वाइवाइ चाउचाउ, क्विक्स, रियो र वेफर चकलेट जस्ता उत्पादन हुँदै आएको छ।

कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व पनि निर्वाण चौधरीको छ। निर्वाणको कम्पनीमा ७६ प्रतिशत स्वामित्व छ। त्यसपछि अपलो इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत स्वामित्व छ।

कम्पनीको सञ्चालन मार्जिन भने घट्दो क्रममा रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ। गहुँ र पाम आयलको मूल्यमा भएको उच्च वृद्धि तर त्यसअनुसार कम्पनीले आफ्नो उत्पादनको मूल्य नबढाएकोले सञ्चालन मार्जिन घटिरहेको हो।

उच्च प्रतिस्पर्धाको कारण कम्पनीले आफ्ना उत्पादित सामग्रीको मूल्य समायोजन नगरेको देखिन्छ। यस्तो मार्जिन ११.१ प्रतिशतसम्म रहेकोमा ५.३ प्रतिशतमा झरेको हो।

कम्पनीले उच्च दरमा लाभांश दिइरहेकोले पनि व्यवसाय सञ्चालनको लागि नगद प्रवाह (तरलता) मा प्रभाव पर्न सक्ने इक्राले उल्लेख गरेको छ।

सिजी फुड्सले नेपाल बाहेक भारत, काजकिस्तान, सर्बिया, बंगलादेशबाट पनि उत्पादन गरिरहेको छ। इजिप्टबाट पनि उत्पादन गर्ने गरी केही वर्षदेखि तयारी गरिरहेको छ। हाल विश्वमा विभिन्न ३५ मुलुकभन्दा धेरै स्थानमा सिजीका उत्पादन पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply