दाङको राजपुर गाउँपालिकामा खरबारीबाट सल्केको आगोले जले २५ घर

१६ वैशाख धनगढी
दाङको राजपुर गाउँपालिकामा खरबारीबाट सल्केको आगोले २५ वटा घर जलेको छ।

गाउँपालिकाको वडा नम्बर ७ हाडबासमा आइतबार बिहान साढे १० बजेतिर आगलागी भएको थियो।

वडा सदस्य प्रमोद बस्नेतका अनुसार वडाका २७ घरमध्ये २५ घर जलेर नष्ट भएको छ। गाउँका जम्मा दुई घर मात्रै जोगिएका छन्। यी घर जस्तापाताले छाएको र आगलागी भएको ठाउँभन्दा केही टाढा थियो।

जलेका सबै घर खरले छाएका थिए।

आगलागीबाट ७९ जना मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। वडासदस्य बस्नेतका अनुसार त्यसमा ८ जना बालबालिका छन्। १८ वर्ष मुनिका २० जना र अन्य उमेर समूहका ५३ जना प्रत्यक्ष प्रभावित भएको उनले बताए।

गाउँका २५ घर जलेपछि पीडित बारीमा बस्न बाध्य छन्। ‘घर जलेका मानिसहरू बारीमा बस्नुभएको छ,’ उनले भने।

गाउँ नजिकैको खरबारीमा आगो सल्केको थियो। हावा चलेको हुँदा आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्। खरबारीबाट सुरूमा स्थानीय सीता भण्डारीको घरमा आगो लागेको थियो।

आगलागीले घरसहित लत्ताकपडा र अन्नपात पनि जलेको छ।

आगो निभाउन लमही नगरपालिका र गढवा नगरपालिकाबाट एक-एक वटा दमकल गएको थियो। तर बाटो साँघुरो हुँदा बस्तीमा पुग्न पाएको थिएन।

पीडितलाई आजलाई पुग्ने खाद्यान्न र त्रिपाललगायत आवश्यक सामग्री वितरणको तयारी भइरहेको उनले जानकारी दिए।

विद्यालयबाट फर्केका विद्यार्थी पनि घर जलेपछि बारीमै बसिरहेको उनको भनाइ छ। बस्तीमा फैलिएको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधि तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।

आगलागीबाट घरपालुवा पशुचौपाया पनि मरेका छन्। खरबारीमा कसले आगो लगायो भन्ने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply