धनगढी असार २८
गुल्मीमा झुक्किएर मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा चार वर्षीया बालिकाको मृत्यु भएको छ। अर्की पाँच वर्षीया बालिका गम्भीर छन्।
इस्मा गाउँपालिका वडा नं. १ हस्तिचौर निवासी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारले विष सेवन गर्दा मृत्यु भएको हो।
त्यस्तै, स्थानीय बसुन्धरा सुनारकी पाँच वर्षीया छोरी दिपशिखा सुनार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बुधबार साँझ आमाहरूसँग बारीमा गएका प्रिन्सा र बसुन्धराले खेल्ने क्रममा मुसा मार्न प्रयोग हुने विष फेला पारेपछि सेवन गरेका थिए। उनीहरूलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइए पनि प्रिन्सालाई बिहीबार बिहान ६ बजेतिर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले गम्भीर अवस्थाकी दिपशिखालाई थप उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिए। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए।