घरमा हुने सुत्केरीलाई शून्य बनाउन ‘उपमेयरको कोसेली’

धनगढी असार २९
घरमा हुने सुत्केरीलाई शून्य बनाउने उद्देश्यसहित बैतडीको दशरथचन्द नगरपालिकाभित्र ‘उपमेयरको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ । ‘उपमेयरको कोसेली’ सुत्केरी आमाहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । उनले भने,‘सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पुर्याउनेछ ।’ घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने उद्देश्य सहित ‘उपमेयरको कोसेली’ वितरण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताए । उनले भने,‘आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली प्रदान गर्ने गरेका छौं । अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा दिने चलन कम छ । नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि जागरुक हुन् भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं ।’

नगरपालिकाभरी ४ सय बढी सुत्केरी आमाहरुलाई यो बर्ष ‘उपमेयरको कोसेली’ वितरण भइरहेको छ । सुत्केरी आमाहरुलाई कोसेली वितरणका लागि नगरभित्रका १३ ओटा स्वास्थ्य संस्थाहरुमा कोसेली पुर्याइएको छ । ‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाईका सामग्री राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply