यी हुन् क्रयशक्तिका आधारमा विश्वका १० ठुला अर्थतन्त्र

धनगढीः साउन ६
टाइम्स अफ इण्डियाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को हवला दिँदै चीन विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बनेको दाबी गरेको छ । यो पत्रिकाले क्रय शक्ति समानता (पीपीपी)का आधारमा चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) विश्वकै सबैभन्दा ठुलो भएको उल्लेख गरेको हो ।

यसक्रममा मुद्रा कोषको प्रक्षेपणलाई आधार मानेको समाचारमा उल्लेख छ । विश्वका १० सबैभन्दा ठुलो जीडीपी भएका मुलुकको सूची सार्वजनिक गर्दै भारतको स्थान तेस्रोमा रहेको उल्लेख गरिएको छ ।

यसअघि पहिलो स्थानमा रहने अमेरिका दोस्रोमा पुगेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । क्रय शक्तिका आधारमा तय गरिएको तथ्याङ्कबमोजिम शीर्ष १० अर्थतन्त्र भएका १० मुलुक यस प्रकार छन् ।

चीन

चीन जनसङ्ख्याका आधारमा भारतपछि विश्वकै दोस्रो ठुलो मुलुक हो । लामो समयसम्म जनसङ्ख्याका आधारमा विश्वको पहिलो स्थानमा रहेको चीनलाई भारतले हालसालै पछाडि छाडेको थियो । यही चीन क्रय शक्ति (पीपीपी)का आधारमा विश्वको सबैभन्दा ठुलो जीडीपी भएको मुलुकको सूचीमा पहिलो स्थानमा छ । मुद्रा कोषलाई स्रोत मानेको टाइम्पस अफ इन्डियाले क्रय शक्तिका आधारमा चीनको जीडीपीको आकार सन् २०२३ मा ३२ ट्रिलियन डलर उल्लेख गरेको छ । र सन् २०२४ मा नै यो ३५ ट्रिलियन डलर पुग्ने छ । यद्यपि नमनिल (बजार मूल्य तथा वर्तमान मूल्यका आधारमा) जीडीपीका आधारमा भने चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो ।

अमेरिका

क्रय शक्तिका आधारमा अमेरिका विश्वको १० शीर्ष अर्थतन्त्रमध्ये दोस्रो स्थानमा छ । यद्यपि, अमेरिका नमनिल जीडीपीका आधारमा विश्वको पहिलो ठुलो अर्थतन्त्र हो । मुद्रा कोषका अनुसार पीपीपीका आधारमा सन् २०२३ मा अमेरिकाको जीडीपी २७ ट्रिलियन डलर छ । जुन, सन् २०२४ मा २८ ट्रिलियन डलर पुग्नेछ ।

भारत

क्रय शक्तिका आधारमा भारत विश्वको तेस्रो ठुलो अर्थतन्त्र हो । आईएमएफका अनुसार सन् २०२३ मा यो मोडलमा भारतको जीडीपी १३ ट्रिलियन डलर छ । जुन, २०२४ मा १४ ट्रिलियन डलर पुग्नेछ । भारतको अर्थतन्त्रको तुलनामा अमेरिकाको अर्थतन्त्र १.७ गुणा बढी छ । आगामी केही वर्षसम्म भारतले प्रतिवर्ष ६ देखि ७ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल गरेमा अमेरिकाको अर्थतन्त्रलाई भेट्ने प्रक्षेपण समेत मुद्रा कोषको छ । यद्यपि नोमिनल जीडीपीमा भने भारत विश्वको ५औँ ठुलो अर्थतन्त्र हो ।

जापान

क्रय शक्तिका आधारमा जापान विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा दर्ज छ । छिमेकी मुलुक भारतले हालसालै जापानलाई क्रय शक्तिका आधारमा पछाडि धकेलेको हो । मुद्रा कोषका अनुसार सन् २०२३ मा भारतको पीपीपी आधारमा जीडीपी ६.५० ट्रिलियन डलर छ । यो सन् २०२४ मा समेत सोही आकार अर्थात ६.७२ ट्रिलियन पुग्ने छ । तर थोरै मात्रामा सकारात्मक परिवर्तन भने देखिनेछ । ट्रिलियन डलरकै प्रभाव भने हुनेछैन । यता नमिनल जीडीपीतर्फ भने जापान विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा छ ।

जर्मनी

क्रय शक्तिलाई आधार मान्दा प्रविधि र मेसिनरी उत्पादनमा अब्बल जर्मनी विश्वको पाँचौं ठुलो अर्थतन्त्र हो । यद्यपि जर्मनी नोमिनल जीडीपीमा विश्वको तेस्रो ठुलो छ । जर्मनी अघि चीन र अमेरिका मात्रै छन् । मुद्रा कोषका अनुसार सन् २०२३ मा ५.५४ ट्रिलियनको अर्थतन्त्र रहेको जर्मनीको सन् २०२४ मा ५.६८ ट्रिलियन डलर पुग्नेछ ।

रुस

क्रय शक्तिका आधारमा रुस विश्वका १० शीर्ष अर्थतन्त्रमध्ये छैटौँ स्थानमा अटाउँछ । छिमेकी मुलुक युक्रेनमाथि हमला गरिरहेपनि पछिल्लो समय रुसको अर्थतन्त्र सही दिशा उन्मुख छ । युरोपलाई चाहिने तेल आपूर्ति र चीन तथा भारतलाई पर्याप्त मात्रामा खनिज इन्धन बेचेर रुसले आफ्नो अर्थतन्त्र झनै मजबुत बनाइरहेको छ । मुद्रा कोषका अनुसार क्रय शक्तिका आधारमा सन् २०२३ मा रुसको अर्थतन्त्र ५.१८ ट्रिलियन डलर छ । यो सन् २०२४ मा ५.४७ ट्रिलियन डलर पुग्नेछ । नमिनल जीडीपीतर्फ भने रुस विश्वको ११औँ ठुलो अर्थतन्त्र हो ।

इन्डोनेसिया

यसपछि इन्डोनेसिया क्रय शक्तिका आधारमा विश्वको सातौँ ठुलो अर्थतन्त्रका रूपमा रहेको छ । नमिनल जीडीपीतर्फ यो देशको अर्थतन्त्रका आकार विश्वको १६औँ स्थानमा पर्छ । पीपीपीतर्फ सन् २०२३ मा इण्डोनेसियाको अर्थतन्त्र ४.३९ ट्रिलियन डलर छ । जुन, सन् २०२४ मा ४.७२ ट्रिलियन पुग्ने प्रक्षेपण मुद्रा कोषको छ ।

ब्राजिल

ब्राजिल क्रय शक्तिका आधारमा विश्वको आठौँ ठुलो अर्थतन्त्रका रुपमा दर्ज भएको छ । सन् २०२३ मा ब्राजिलको अर्थतन्त्र क्रय शक्तिका आधारमा ४.०८ ट्रिलियन डलर छ । जुन, सन् २०२४ मा ४.२७ ट्रिलियन डलर पुग्ने प्रक्षेपण मुद्रा कोषले गरेको छ । यद्यपि नमिनल जीडीपीका आधारमा ब्राजिलको अर्थतन्त्रको आकार समेत आठौँ स्थानमा नै छ ।

सयुंक्त अधिराज्य

संयुक्त अधिराज्यले क्रय शक्तिका आधारमा विश्वका १० ठुलामध्ये नवौँ स्थान ओगटेको छ । सन् २०२३ मा यो देशको जीडीपी ३.९१ ट्रिलियन डलर छ र सन् २०२४ मा ४.०२ पुग्नेछ । नोमिनल जीडीपीका आधारमा संयुक्त अधिराज्य विश्वको छैटौँ ठुलो अर्थतन्त्र हो ।

फ्रान्स

नोमिनल जीडीपीका आधारमा विश्वको सातौँ स्थानमा रहेको फ्रान्स क्रय शक्तिका आधारमा विश्वको १०औँ ठुलो अर्थतन्त्रका रुपमा रहेको छ । मुद्रा कोषका अनुसार सन् २०२३ मा फ्रान्सको अर्थतन्त्र ३.८६ ट्रिलियन डलर छ । जुन, सन् २०२४ मा ३.९८ ट्रिलियन डलर पुग्ने प्रक्षेपण मुद्रा कोषको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply