धनगढीः साउन १३
रौतहटको गुजरा नगरपालिकामा एका दलित बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा लामो समयपछि प्रहरीकोमा मुद्दा दर्ता भएको छ। केही जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेका कारण घटनाको २२ दिन पछि मात्र मुद्दा दर्ता भएको हो।
गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपी विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो । पीडित र पीडक गुजराको भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ।
आरोपीहरू गुजरा ४ कनकपुर गाउँका वर्ष २० का शेख ईञ्जमाम, वर्ष २१ का शेख मुस्ताक र वर्ष २५ को दीपेन्द्र कुमार दासविरुद्ध जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।
घटना विवरण अनुसार आरोपी मध्ये एकजनाले गुजरा ४ कनकपुर गाउँकी १७ वर्षीय एक दलित बालिकालाई विभिन्न प्रलोभन दिई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँबिचको चौरमा लागेका थिए।
पहिल्यै देखि त्यहाँ लुकिबसेका अन्य दुई आरोपीसहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाइल फोनबाट भिडियो समेत बनाएका थिए।
घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानीय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन।
भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो। पीडित परिवारमाथि दिएको विभिन्न धाक धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जान सकेका थिएन ।
घटनाको २० दिन पछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटनाबारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरूलाई हौसला दिँदै घटनाबारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन्।
लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडकविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दरखास्त दिएको थियो।
जाहेरीसँगै एसपी दिलीप घिमिरे, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारी आफै फिल्डमा खटेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिएकी छिन्।
एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुङ्गो लगाउने कार्य आफैमा अपराध भएको बताएका छन्। उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन्।आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।