धनगढीः साउन १७
कञ्चनपुर भीमदत्त नगरपालिका ९ मटैना निङलाशैनीका स्थानीय शम्भुराम ओडको तराईमा घर छैन, आफ्नो घर नभएपनि उनी देव बहादुर चन्दको घरमा भाडामा बस्दै आएका छन । विगत १० बर्षदेखि ओड परिवार चन्दको घरमा बस्दै आएका थिए । नहर भत्किएर चन्दको पक्की घर उच्च जोखिममा परेपछि त्यही घरमा बस्दै आएका ओड परिवार विस्थापित भएका छन । ओड परिवार २४ दिनदेखि विद्यालयमा बस्दै आएका छन । मटैनाकै मालिकार्जुन आधारभूत विद्यालयको एक कोठामा बसेका हुन । ‘म देव बहादुर चन्द घरबेटीलाई बार्षिक २० हजार भाडा लिएर बस्दै आएको छु, ‘शम्भुराम ओडले भने, ‘अहिले यो घर जोखिममा परेपछि हामी विस्थापित भएका छौँ, मेरो अन्त घर छैन, चारसातादेखि विद्यालयमै बसेको छु, घर जस्तो विद्यालयमा सहज हुने कुरै भएन ।’ आफुले बनाएको गोठ र भान्साघर भत्किएको उनले बताए । ओड र नाथ परिवारले सडकको ह्युमपाईपको पानी निकास गरिदिनुपर्ने, भत्किएको नहर पुर्ननिर्माणसंगै भत्किएको खेत समेत व्यवस्थापन गरेर कटानी रोक्न माग अघि सारेका छन । भीमदत्त नगरपालिका ९का वडाध्यक्ष गगन नाथले उक्त भत्किएको स्थानमा पुर्ननिर्माणका लागि पालिका,सिँचाई सडक लगायतका सरकारी निकायसंग समन्वय भईरहेको बताए । ‘बर्षातले भत्किएको नहर, स्थानीयका घर, संरचना, खेतबारी सरक्षणमा लागि वडाले पहल गरिरहेको छ, ‘उनले भने, ‘वडाबाट माथिल्ला निकाय घचघच्याउने काम जारी छ ।’ महाकाली सिँचाई तेस्रो चरण आयोजना प्रमुख कुसाङ सेर्पाले मटैनामा पानीले भत्किएको नहर र स्थानीयका खेत पुर्ननिर्माणका लागि आयोजनाले ठेक्का आब्हान गरेर केही दिनमै काम शुरु गर्ने बताए ।