धनगढीः साउन २०
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३-२ सेटमा पराजित भएको हो।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपाल पहिलो सेटमा इरानलाई २५-१६ ले नतिजा सुम्पियो।
दोस्रो सेटमा नेपाल २५-१६ ले नै विजयी भयो। तर तेस्रो सेट फेरि इरानले २५-२३ ले जित्यो। चौथो सेट २५-१५ ले जित्दै खेलमा नेपालले २-२ को बराबरी गर्यो।
निर्णायक पाँचौं सेटमा इरान १५-१३ ले वियजी भएसँगै नेपालले अन्तिम अवस्थामा खेल गुमायो।
यसअघि नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतमाथि ३-२ सेटमा जित निकालेको थियो। पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३-० को सेटमा जित निकालेर विजयी सुरूवात गरेको थियो।
अब नेपालले समूहको अन्तिम खेलमा भोलि माल्दिभ्ससँग खेल्नेछ।
नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरूमा एकआपासमा भिड्नेछन्।
लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ।
अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ।