धनगढीः साउन २०
पशुचौपायामा देखिने विभिन्न समस्यामध्ये एक हो बाँझोपन । पशुको आहार, बासस्थानको सरसफाइ नहुँदा, सरुवा रोग लगायत कारणले पशुमा बाँझोपन देखिने गर्दछ ।
दुधमा आत्मनिर्भर भनेर चिनिने चितवनका किसान पनि पशुवस्तुमा बाँझोपनको समस्याबाट पीडित देखिन्छन् । चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले बाँझोपन भएका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरिरहेको बताउँछन् ।
पछिल्लो पटक पशुमा देखिने बाँझोपन मुख्य समस्या रहेको उनको भनाइ छ । ‘कृत्रिम गर्भाधान गर्दा समस्या देखिएका पशुवस्तुको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ,’ उनले भने ।
पशुवस्तुमा खानपान नमिल्दा हुने हार्मोनको समस्या, पशुवस्तुको पाठेघरमा हुने समस्या लगायत कारणले बाँझोपन देखिने गरेको बगालेको भनाइ छ । ‘अल्ट्रासाउण्डबाटै हेर्न मिल्छ । सोही प्रविधिबाट समस्या पहिचान गर्न हामीले तथ्याङ्क सङ्कलन गरिरहेका छौँ,’ उनले भने ।
पशु चिकित्सक डा. मनोज कुमार शाहीका अनुसार पशुको प्रजनन् क्षमता कमजोर हुनु अथवा प्रजनन् क्षमता नै बन्द हुनुलाई बाँझोपनको समस्या भनिन्छ । यद्यपि आहारको व्यवस्था हुन नसक्नु, दैनिक पोषण, मिनिरल, प्रोटिन अभाव जस्ता समस्याका कारणले बाँझोपन देखिने उनको भनाइ छ ।
गोठ व्यवस्थापन लगायत नहुँदा पनि पशुहरूमा बाँझोपनको समस्या देखिने शाहीले बताए । बाख्रा प्रजननका लागि तयार हुन १२ महिना लाग्ने, भैँसी वा गाई १८ महिनादेखि २ वर्ष समय लाग्ने उनको भनाइ छ ।
पशुमा पोषक तत्त्वको अभाव, आहारामा समस्या, भिटामिनको अपुग तथा जुका र अन्य परजीवीका कारण बाँझोपन देखिने शाही बताउँछन् ।
पशुलाई बाँझोपन भएको कसरी थाहा पाउने ?
बाँझोपन भएका पशुवस्तुमा विभिन्न लक्षण देखिन्छ । डा. शाहीले भने, ‘पशुवस्तुको उमेर पुगेको छ तर भाले खोज्दैन भने प्रजननमा समस्या छ भनेर बुझ्न सकिन्छ ।’ समय अन्तर नराखी नियमित दुध दुहुनाले पनि पशुमा बाँझोपनको समस्या देखिने उनले बताए ।
पशुवस्तुमा बाँझोपन कसरी व्यवस्थापन गर्न सकिन्छ ?
पशुवस्तुमा देखिने बाँझोपनका कारण किसानलाई आर्थिक भार पर्ने हुन्छ । वर्ष दिनमा एउटा गाई वा भैंसीले सरदर करिब एक हजार लिटर दुध दिने हो भने पनि बाँझोपनका कारण किसानलाई ठुलो आर्थिक भार पर्दछ । जीवन र अर्थतन्त्रसँग दुध दिने पशुवस्तु प्रत्यक्ष जोडिएका हुन्छन् । यसले सिधै अर्थतन्त्र र दैनिक जीवनमा असर पर्दछ । पशुवस्तुमा बाँझोपनले अर्थतन्त्रमा ठुलो क्षति हुन सक्छ ।
यस्ता समस्याबाट जोगिन नियमित रूपमा पशु प्राविधिकहरूसँग समय समयमा पशुको स्वास्थ्य जाँच गराउन डा. शाही सुझाउँछन् । ‘बाँझोपनको समस्या सरुवा रोगको कारण पनि हुन सक्छ । कहिलेकाहीँ इन्फेक्सनका कारणले पनि हुन्छ,’ उनले भने, ‘ओभरीको समस्याले पनि हुन्छ । यस्ता कारण किसानले जानकारी पाउँदैनन् । त्यसकारण प्राविधिकबाट जाँच गराउनु पर्दछ ।’
डा. शाहीले पशुचौपाया राख्ने गोठको सरसफाइमा ध्यान दिन, बेलाबेलामा औषधि खुवाउने, विभिन्न रोगका भ्याक्सिन लगाइराख्न, उपयुक्त खाना खुवाउन सुझाव दिए । यस्ता विषयमा ध्यान दिएमा बाँझोपनको समस्या न्यूनीकरण हुने उनको भनाइ छ । ‘अहिले भिटामिन लगायत खानेकुराको कमीका कारणले पनि बाँझोपन देखिन्छ,’ उनले भने, ‘बेलाबेलामा पशु चिकित्सकको सल्लाह अनुसार यस्ता खाना खुवाउनु पर्छ ।’
पशुवस्तुहरू ‘रिप्रोडक्टिभ’ हुँदा पशुलाई पोषणयुक्त आहार खुवाउनु पर्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारणले पनि बाँझोपनको समस्या हुन सक्ने शाहीको अनुमान छ ।
पशुको बाँझोपनको समस्याबाट जोगिन विशेषतः आहार र व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । किसानलाई सरकारले यस सम्बन्धमा प्राविधिक सहयोग दिनुपर्ने उनको भनाइ छ ।