धनगढीः २८ साउन
धनबहादुर बिक –
सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ।
सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो। हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिए।

प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै? दलितलाई कानुन खै? दलितलाई नियुक्ति खै? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
यसैबिच राष्ट्रिय दलित आयोग ले अभियन्ता खगेन्द्र सुनार लाई अविलम्ब रिहाइ गर्न का निमित्त सरकार संग जोडदार माग गरेको छ । राष्ट्रिय दलित आयोग का अध्यक्ष देवराज बिस्वकर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा दलितका लागि दलित अभियान, नेपालका संयोजक तथा दलित अधिकारकर्मी खगेन्द्र सुनारले विगत केही दिनदेखि शान्तिपूर्ण रूपमा धर्ना वसिरहेको सन्दर्भमा आज मिति २०८१/०४/२९ का दिन निषेधित क्षेत्रना प्रदर्शन गर्न खोजेको भनी प्रहरीद्वारा नियन्त्रणमा लिएको घटनाप्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। गान्तिपूर्ण धर्ना बसेर, संबैधानिक तथा कानुनी हक कार्यान्वयनको माग गरिरहेका खगेन्द्र सुनारलाई तत्काल रिहा गरी निजले उठान गरेका दलित समुदायको हकहितसम्बन्धी कानुनचमोजिमका माग अविलम्ब सम्बोधन गर्न नेपाल सरकारसमक्ष अपील गर्दछौ बिज्ञप्तिमा उल्लेख छ।

यस्तै दलितका लागि दलित अभियान सुदूरपश्चिम प्रदेश का संयोजक सुरत भुल तथा दलित का लागि दलित अभियान कैलाली जिल्ला समित अध्यक्ष खडक नागरि दुईवटै समितिले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरेका छन ।
