कक्षा १२ का ३३ हजार विद्यार्थीले रिटोटलिङका लागि दिए आवेदन

धनगढीः साउन ३२
कक्षा १२ को नतिजामा राष्ट्रिय परीक्षा बोर्डले त्रुटि गरेको भन्दै ३३ हजार विद्यार्थीले उत्तरपुस्तिका रिटोटलिङ (पुनर्याेग) गर्न निवेदन दिएका छन् । बोर्डकै कारण आफूहरूको नतिजामा एनजी आएको दाबीसहित विद्यार्थीले अनलाइनमार्फत निवेदन दिएका हुन् ।

गत वर्ष कक्षा १२ को परीक्षापछि रिटोटलिङका लागि १५ हजारले मात्रै आवेदन दिएकोमा यसपटक भने दोब्बरको संख्यामा आवेदन परेको हो । बोर्डका कक्षा ११ र १२ कन्ट्रोलर कृष्ण शर्माका अनुसार २ भदौसम्म विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म दश हजार आवेदन थप हुने अनुमान गरिएको छ । ‘यसपटक हामीले अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेका छौँ, सोही कारण विद्यार्थीले घरमै बसी आवेदन दिएका छन् । विद्यार्थीको आवेदनका आधारमा सक्दो छिटो नतिजा दिन्छौँ,’ उनले भने, ‘प्राविधिक त्रुटिका कारण कतिपय उत्तीर्ण भएका विद्यार्थीको नतिजा बिग्रिएको हुन सक्छ ।’

रिटोटलिङका लागि ठूलो संख्यामा आवेदन पर्नुलाई बोर्डको त्रुटिका रूपमा हेरिएको छ । बोर्डले हजारौँ विद्यार्थीको नतिजा बिगार्नु बोर्डको कमीकमजोरी रहेको जानकारहरू बताउँछन् । विद्यार्थीले पनि बोर्डको कमीकमजोरीका कारण आफूहरू अन्योलमा परेको बताएका छन् । बौद्ध महांकालमा रहेको जनकल्याण माविबाट कक्षा १२ को परीक्षा दिएकी एक छात्रा आफूहरूले परीक्षामा राम्रो लेखे पनि अंग्रेजीमा एनजी आएकाले रिटोटलिङका लागि आवेदन दिएको बताइन् । ‘मैले परीक्षा राम्रो नै गरेको हो, यसभन्दा अघिका परीक्षामा पनि नतिजा राम्रो थियो । तर, आफू कन्फिडेन्ट रहेको विषयमा समेत फेल हुँदा दुःख लाखेको छ,’ उनले भनिन्, ‘निवेदन त दिएकी छु, तर नतिजा कुर्दा कहिलेसम्म समय लाग्ने हो थाहा छैन ।’

यसअघि एसइईको परीक्षामा पनि रिटोटलिङका लागि ४० हजारहाराहारी विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये झन्डै १५ हजार विद्यार्थीको नतिजा सच्चिएको बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ मा अनुत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गर्दै २५ र २६ भदौमा पूरक परीक्षाको मिति तोकेको छ । विद्यार्थीले परीक्षाको दुई दिनअघिसम्म पनि फारम भर्न पाउनेछन् । कतिपय विद्यार्थीको रिटोटलिङ गर्न समय लाग्ने भएकाले बोर्डले मौका परीक्षाको फारम ढिलो भरे पनि समस्या नहुने बताएको हो ।

रिटोटलिङका लागि निवेदन दिने विद्यार्थीको संख्या ठूलो रहेको भन्दै उच्च अदालत पाटनले रिटोटलिङको नतिजा आएपछि मात्रै प्रवेश परीक्षा गराउन चिकित्सा शिक्षा आयोगको नाममा आदेश जारी गरेको छ । मेडिकल शिक्षाका लागि १ भदौदेखि लिने एकीकृत प्रवेश परीक्षामा रिटोटलिङबाट आएका विद्यार्थीलाई पनि समेट्न अदालतले आदेश दिएको हो । परीक्षा बोर्डको त्रुटिका कारण आफूहरू मेडिकल शिक्षाबाट वञ्चित हुने भन्दै स्मृत राउतलगायत विद्यार्थीले आयोगलाई विपक्षी बनाई उच्चमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply