सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल बढ्यो

भदौ १०,धनगढी:
सुदूरपश्चिमको मौलिक पर्व गौरा मनाउन घर फर्कनेहरुको सीमा नाकाहरूमा भिडभाड बढेको छ।

भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको संख्या बढेको हो। लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन थालेका छन्। गौराका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर सीमा नाकाबाट स्वदेश भित्रिनेको सङ्ख्या बढ्दै गएको पाइएको हो।

दैनिक चार सयभन्दा बढी नेपाली ती नाकाहरु भएर स्वदेश फर्किरहेको प्रहरीले जनाएको छ। भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन्। गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ। सुदूरपश्चिमका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन्।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन्। पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो (मन्दिर परिसर) मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुख्र्यौली थलोमा फर्किने गरेका हुन्।

गौरा बनाउन यतिबेला भारतका विभिन्न सहरबाट घर फर्कनेको संख्या सीमा नाकामा बढ्न थालेको हो। आइतबार मात्र चार सय ६६ जना सीमा नाका भएर घर फर्किएका छन्। शनिबार करिब ५ सय जना घर फर्किएका थिए। तीमध्ये अधिकांश गौरा पर्व मनाउन घर फर्किएका हुन्।

आइतबार जुलाघाट नाका बैतडीबाट ५४, गड्डाचौकी नाका कञ्चनपुरबाट एक सय ५३, गौरीफन्टा नाका कैलालीबाट एक सय ७३, पुलघाट नाका दार्चुला र खकरुला हेल्थ डेस्क ५८ गरेर ४ सय ६६ जना भारतका विभिन्न सहरबाट घर फर्किको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply