विराटनगरमा आज रथयात्रा, प्रदेशभर बिदा

भदौ ११,धनगढी:
विराटनगरमा मंगलबार राधाकृष्ण रथयात्रा आयोजना हुँदैछ।

१९८८ सालबाट खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रा निकाल्न थालिएको यो अनुष्ठानको समग्रमा ९३ औं संस्करण हो भने रथयात्राको ५६ औं संस्करण हो।

राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर हजारौं श्रद्धालुको लर्कोले उल्लासपुर्वक नगर परिक्रमा गराइने विराटनगरको रथयात्रा यहाँको साँस्कृतिक पहिचान बनिसकेको छ।

हजारौं श्रद्धालु सहभागी बन्ने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो।

आयोजक समितिका अनुसार यसपटक मंगलबार दिनको ३ बजे विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ।

रथयात्राका क्रममा आकर्षक रूपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ। हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ।

अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिएको छ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिएको जानकारी अनुसार राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई सुरक्षित रूपमा सहभागी हुन आह्वान गरेको छ।

ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ।

यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले सजग रहन पनि सार्वजनिक अपिल गरेको छ।

प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ।

विराटनगरको रथयात्रामा मोरङ र सुनसरीका विभिन्न स्थानीय तहबाट श्रद्धालुहरू सहभागी हुने भए पनि कोशी प्रदेश सरकारले भने प्रदेशका १४ वटै जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले पहिलो वर्ष झापा, मोरङ र सुनसरीका लागि मात्रै दिएको बिदा अहिले भने प्रदेशभर विस्तार गर्दा त्यसको आलोचना पनि भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply