खादा लगाए त्रिभुवन विमानस्थल प्रवेश नै पाइँदैन ? सुरक्षा जोखिम भन्दै रोक्छ प्रहरी

धनगढी भदौ २७
त्रिभुवन विमानस्थल हुँदै विदेश जाँदै गरेका गरेका एक युवामाथि प्रहरीले गरेको व्यवहारको भिडियो केहि दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ ।

हातमा कागजात र पासपोर्ट बोेकेका ती युवाले गलामा रातो रंगको बिदाइका बेला लगाएको खादा देखिन्छ । विदेश जाँदै गरेका अधिकांश नेपालीले विमानस्थलमै पुगेर बिदाइ गर्ने प्रचलन बढ्दो छ ।

ट्रलीमा आफ्नो लगेज राखेर सुरक्षा जाँचपास क्षेत्रमा पुग्दा भने त्यही खादाका कारण उनी अपमानित हुन्छन्, त्यो पनि देशको आन्तरिक सुरक्षाको पहिलो जिम्मा बोेकेको नेपाल प्रहरीबाट ।

भिडियोमा देखिए अनुसार सुरक्षाजाँचमा खटिएका दुईजना प्रहरी मध्ये एकजनाले उनको कागजात हेर्नुअघि नै रुखो स्वरमा बोल्दै खादा निकाल्न भन्छन् । तर, युवाले बुझेजस्तो देखिँदैन, उनले आफ्नो हातको कागजात प्रहरीको हातमा थमाउन खोज्छन् ।

त्यही बेला फेरि प्रहरी आफैँ जाइलाग्दै युवाको खादा समाउँदै भन्छन्,‘‘हो यही खोल् भनेको ।”

प्रहरीको व्यवहारबाट ती युवा प्रतिक्रियाविहीन देखिन्छन् । भिडियो हेर्दा प्रहरीको व्यवहार अस्वाभाविक देखिन्छ । एक प्रहरी अधिकारीका अनुसार संवेदनशील क्षेत्रमा ड्युटीमा रहेका प्रहरीको व्यवहार कारबाहीयोग्य हो ।

विमानस्थल प्रहरीका एसपी गोविन्द अधिकारीले भने, “भिडियो सामाजिक सञ्जालमा मात्रै भाइरल गरिएको हो । हाम्रो प्रहरीले पहिला नै सुरक्षाका कारण सबैले लगाएको खादा माला सुरक्षा जाँच पुग्नुअघि नै निकाल्न लगाएको हुन्छ । समय–समयमा माइकिङसमेत गरेका हुन्छौं । तर, ती युवाले अटेर गरेर नै त्यहाँ पुगेका हुन् ।”

अधिकारीका अनुुसार एक्सरे जाँचमा पनि प्रहरीले खादा खोल्न आग्रह गर्दा समेत उल्टै प्रहरीलाई,‘खादा भनेको के हो ?’ भनेर सोध्दा प्रहरीले खादा नै समातेर,‘यो हो खादा’ भन्न पुगेका हुन् ।

प्रहरीले खादा मालाका कारण एक्सरे मेसिनमा जाँच गर्दा यात्रुलाई नै जोखिम हुने र खादामाला भित्र पनि शंकास्पद वस्तु तस्करी हुनसक्ने भन्दै रोक लगाइएको हो ।

खादा निकालेको प्रकरणमा विमानस्थल प्रहरीले आन्तरिक छानबिनसमेत गरेको थियो । तर, छानबिनका क्रममा प्रहरी कर्मचारीमाथि नै नियोजित तरिकाले प्रश्न गर्न लगाएर भिडियो बनाएको पाइएपछि प्रहरी कर्मचारीमाथि कुनै कारबाही नभएको हो ।

सोही भिडियो भाइरल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हवाई यात्रु महानुभावहरुले आन्तरिक वा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइ स्वरुप साथमा लगाइएका माला खादाले सुरक्षा जोखिम हुने र खादा र माला विमानस्थलको विभिन्न ठाउँमा छोड्दा विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पर्ने हुँदा खादा आफूसँगै लैजानुपर्ने अवस्था आए ब्यागभित्र मात्रै राखेर लिनुहुन अनुरोध गरिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply