यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

धनगढी असोज १
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन् ।

तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए । उनका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् ।

प्रमुख चौधरीले भने “एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।” यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् । विसं २०७९ मा ६ छावा जन्माएका थिए ।

बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने जनाइएको छ । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, ध्र्रुवे र मकुनाका हुन् । खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उनले जानकारी दिए ।

जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । विसं २०४४ देखि केन्द्रको सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply