समयमै उपचार गरे रोकथाम गर्न सकिन्छ अल्जाइमर्स

धनगढी असोज ५
बुढ्यौली उमेरमा बिर्सने बानी हुनुलाई धेरैले सामान्य मान्छन् । तर यो नसा तथा मानसिकसम्बन्धी एक किसिमको रोग हो । यो रोगको लक्षण ४५ वर्ष कटेपछि देखिन थल्छ । जसलाई डिमेन्सिया वा अल्जाइमर्स भनेर बुझिन्छ ।

यो रोग उमेरका कारणले मात्रै नभई अन्य कारणले पनि हुन सक्ने चिकित्सक बताउँछन् । डिमेन्सिया वा अल्जाइमर्स रोगको पूर्ण उपचार सम्भव नहुने हुँदा सुरुवातकै अवस्थामा यसको पहिचान गर्न सकेमा रोकथामको विधिबाट औसतमा दश वर्षसम्म नियन्त्रण गर्न सकिने डिमेन्सिया विशेषज्ञ प्रा.डा. निदेश सापकोटाले बताए ।

सामान्य बिर्सने समस्याबाट सुरु हुने यो रोगले पछि बोल्न बोल्न नसक्ने या वस्तुहरूको पहिचान नै गर्न नसक्ने अवस्थामा पुर्‍याउने डा. सापकोटाले बताए । ‘दैनिक गर्ने कार्यमा असामान्य लक्षण देखिन्छ । साना–साना विषय बिर्सिने हुन्छन्,’ उनले भने ‘त्यस्ता विषयमा परिवारका सदस्यले विचार गर्नुपर्छ । सोही अनुसार उनीहरूसँग व्यवहार गर्नुपर्छ ।’

डा. सापकोटाका अनुसार डिमेन्सियाको समस्या जटिल हुँदै जाँदा स्मरणशक्ति गुम्ने, गरिरहेको कार्य गर्न कठिनाइ हुने, बोलीमा समस्या हुने, समय र स्थानको विचलन हुने लगायत समस्या देखा पर्न थाल्छ ।

यस्तै, कमजोर वा कम निर्णय लिने, सामान राखी बिर्सने, व्यवहारमा परिवर्तन देखिने, सामाजिक गतिविधि सहभागी हुन नरुचाउने जस्ता समस्या देखिने उनको भनाइ छ ।

डा. सापकोटाका अनुसार एक्लै रुने, एक्लै बर्बराउने, विनाकारण रिसाउने, शङ्का गर्ने, निन्द्रा नपर्ने, एकैछिनमा रुने, एकैछिनमा हाँस्नेजस्ता लक्षण पनि यो रोगका बिरामीमा देखिन्छ ।

के हो डिमेन्सिया वा अल्जाइमर्स ?
अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने, भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमशः पुराना कुराहरू पनि बिर्सँदै जाने हुनुका साथै एउटै कुरालाई बारम्बार दोहोर्‍याउने, ध्यान केन्द्रित गर्नलाई समस्या हुने जस्ता लक्षणहरू देखा पर्ने प्रा.डा.सापकोटाले बताए ।

पछि गएर रोगको प्रभाव बढेर दैनिक जीवनयापन कठिन हुन जाने उनको भनाइ छ । श्रवण शक्तिमा कमी, नसर्ने रोग (उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह), मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्त्वको कमी मदिरा र धूम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता आदिका यो रोगका मुख्य कारक रहको सापकोटाले बताए ।

किन हुन्छ डिमेन्सिया ?
डा. सापकोटाका अनुसार डिमेन्सियाको प्रमुख कारण अल्जाइमर्स हो । यस बाहेक पार्किन्सन्स, भास्कुलर डिमेन्सिया, पिकस रोग, भिटामिनको कमी, ट्यूमर तथा टाउकोमा चोट लाग्नु, मादक पदार्थ सेवनले डिमेन्सिया हुने गरेको उनको भनाइ छ ।

डा. सापकोटाका अनुसार यस्तो समस्या हुँदा मुख्यतः मस्तिष्कको तौल घट्ने, खुम्चने र भेन्ट्रिकल्स सुन्निने हुन्छ । समयमै सम्बन्धित विशेषज्ञसँग सल्लाह लिएर उपचार गरेमा यो रोगलाई निराकरण गर्न नसकिए पनि रोकथाम गर्न सकिने उनको भनाइ छ ।

डिमेन्सियाको रोकथाम
डा.सापकोटाले आवश्यक शारीरिक व्यायामका साथमा यो रोगबाट बच्नका लागि मस्तिष्कको व्यायाम पनि आवश्यक हुने बताए । उनले पढ्ने, लेख्ने, हिसाब गर्ने, क्रसवर्ड, दिमागी खेल, चेस खेल्ने बानी गर्दा दिमागलाई ताजै राख्ने अध्ययनहरूले देखाएको प्रस्ट पारे ।

विश्वमा प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको विज्ञ बताउँछन् । यो सङ्ख्या सन् २०५० सालसम्म दोब्बर हुने अनुमान गरिएको छ ।
यो रोगको रोकथाम गर्ने र समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरै समस्याबाट बच्न सकिने डा. सापकोटाको भनाइ छ । ‘डिमेन्सिया वा अल्जाइमर्समा सबैभन्दा महत्त्वपूर्ण र बुझ्नैपर्ने कुरा के छ भने स्मरणशक्ति तथा क्षमतामा ह्रास आउने मस्तिष्कका विभिन्न सर्ने र नसर्ने प्रकृतिका अन्य रोगमा पनि यस्तै लक्षण देखिन सक्छ ।’ त्यसैले यस्तो भएमा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न उनको सुझाव छ ।

बिरामीको जीवनयापन सहज बनाउने उद्देश्यले यो रोगसँगै देखिने अन्य समस्यालाई लक्षित गरी विभिन्न औषधिको प्रयोग र व्यवहार गर्नुपर्ने उनले बताए ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगिता कौशल मिश्राले अल्जाइमर्सको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवा गर्ने परिवारका सदस्य र आफन्तको सहजतासमेत महत्त्वपूर्ण पक्ष रहेको बताइन् । ‘यो रोगको बिरामीको सेवा गर्न दिनरात खटिनुपर्छ,’ उनले भनिन्, ‘जसले गर्दा हेरचाह गर्ने गर्नेको शारीरिक तथा मानसिक थकान बढ्दै जान्छ ।’

विश्वमा बर्सेनि १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिन्छन्
विश्वमा प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको विज्ञ बताउँछन् । यो सङ्ख्या सन् २०५० सालसम्म दोब्बर हुने अनुमान गरिएको छ । नेपालमा वृद्ध जनसङ्ख्याको वृद्धिसँगै डिमेन्सिया रोग, विशेष गरी अल्जाइमर महत्त्वपूर्ण चुनौतीका रूपमा छ । मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालका ६० वर्षभन्दा माथिका करिब ७ प्रतिशत कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर ५ करोड ५० लाख मानिस डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या १० प्रतिशत छ । बुढ्यौली जनसङ्ख्याको वृद्धिसँगै मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गइरहेका स्वास्थ्य सेवा विभाग अन्तर्गत पर्ने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले बताइन् ।

सरकारी प्रयास
मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालका ६० वर्षभन्दा माथिका करिब ७ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित छन् । नेपाल सरकारले अल्जाइमर वा डिमेन्सिया रोगलाई सम्बोधन गर्न केही प्रमुख नीतिगत व्यवस्था गरिसकेको निरौलाले बताइन् ।

‘सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत अल्जाइमर रोगको लागि १ लाख रुपैयाँसम्म उपचार सुविधा प्रदान गरिँदै आएको छ,’ उनले भनिन् ‘आगामी दिनमा अल्जाइमर लगायतका अन्य डिमेन्सिया रोगलाई सम्बोधन गर्न उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरणलाई ध्यान दिनुपर्ने हुन्छ ।’

‘अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ नाराका साथ ३१ औँ विश्व अल्जाइमर्स दिवस शनिबार मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ मा विश्व अल्जाइमर दिवस मनाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply