प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच लोट्टे प्यालेस होटलमा भेटवार्ता

धनगढी असोज ७
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच लोट्टे प्यालेस होटलमा भेटवार्तान्युयोर्कको लोट्टे प्यालेस होटलमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल—भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। माइक्रो ब्लगिङ साइट एक्समा उनले त्यस्तो बताएका हुन्।

‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै भनेका छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा छन्। सोही क्रममा मोदी बसेकै होटलमा साइडलाइन वार्ता भएको थियो।

नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटको वातावरण बनेको नेपाली प्रतिनिधिमण्डलले जानकारी दिएका छन्। भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीहरू थिए। भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको थियो।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट भएको हो। यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो। लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।

त्यसमा भारतले कुनै जवाफ दिएको थिएन। नेपालले निम्तो गरेको भएता पनि नेपालका प्रधानमन्त्री ओलीले अहिलेसम्म भारतीय पक्षसँग भ्रमणको औपचारिक निम्तो भने पाएका छैनन्। प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अरू पनि महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। त्यस्तै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply