२२ असोज धनगढी
कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा पहिरोमा परि ज्यान गुमाएका ६ फुटबल खेलाडीको सम्झनामा दिप प्रज्वलन गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को असोज २० गते बसेको बैठकले गरेको निर्णय अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा २०८१ आसोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका वडा नं. ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीमा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम घलान र साईमन योञ्जनको आत्माको चिर शान्तिको कामना गर्दै आश्विन २१ गते सोमबार महेन्द्रनगर स्थित मदन चोक भेटघाट चौतारीमा एक मिनेट मन धारण संगै दिप प्रज्वलन कार्यक्रम गरिएको हो।
उक्त कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, महासचिव नितेश रावल, एन्फा प्रशिक्षक पुष्कार शाही, नेपालका यू-१८ का पुर्व कप्तान अर्पण कार्की, राष्ट्रिय फुटबल खेलाडी टेकेन्द्र सिंह थापा, नेपाल यू-२० का कप्तान कुशल देउवा, फुटबल संघका पदाधिकारी, पुर्वखेलाडी खेल प्रेमी लगायत खेलाडीहरु को उपस्थितिमा उक्त कार्यक्रम गरेको फुटबल संघ कञ्चनपुरका महासचिव नितेश रावलले बताउनु भयो।
अखिल नेपाल फुटबल संघले मृतक खेलाडीका प्रत्येक परिवारलाई राहत स्वरुप ८ लाख उपलब्ध गर्ने, प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा २ लाखको अक्षयकोष संघवाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकहरुलाई सहयोग गर्नका लागि अनुरोध गर्ने, दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी मा.वि विद्यालयमा पहल गरी निर्माण गराउने,थप राहतको लागि फिफा र ए.एफ. सीलाई पनि अनुरोध गर्ने,एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई स्वर्गिय ६ खेलाडीहरुको स्मृतीमा सञ्चालन गर्ने, उक्त घटनाको बारे सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन १ महिना भित्र पेश गर्ने गरी समिति गठन गरिएको छ । संयोजक विकास नारायण श्रेष्ठ एन्फा केन्द्रिय सदस्यको नेतृत्वमा,सदस्यः टिका राम लामा एन्फा केन्द्रिय सदस्य, दामोदर भट्टराई एन्फा सहायक महासचिवको सदस्य रहने गरि समिति लाई जिम्मेवारी दिएको छ।