फ्लोरिडामा सय वर्ष यताकै शक्तिशाली आँधीको चेतावनी, घर छाड्दै मानिसहरू

२३असोज धनगढी
अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी मिल्टन आउन लागेको भन्दै दशौँ लाखभन्दा बढी मानिसहरूलाई उद्धारको आदेश दिइँदा लामो सवारी जाम देखिएको छ। उक्त आँधी सय वर्ष यताकै खराब हुने भविष्यवाणी गरिएको छ। दुई साताअघि मात्रै उक्त क्षेत्रमा हेलेन नामक अर्को आँधीले विध्वंस मच्चाएको थियो।

मौसमविद्हरूले हालैको ‘हरिकेन’ले पारेको प्रभावका कारण उक्त क्षेत्र यो भीषण आँधीबाट थप जोखिममा परेको उल्लेख गरेका छन्। बालुवाहरू आँधीले उडाएर ल्याउनसक्ने र भग्नावशेषहरूले हतियारको जस्तो असर पार्न सक्ने टिप्पणीहरू गरिएका छन्।

राष्ट्रपति जो बाइडनले फ्लोरिडाका मानिसहरूलाई ‘जीवन मरणको सवाल भन्दै’ हरिकेन मिल्टन फ्लोरिडामा बज्रनु पूर्व नै त्यो क्षेत्र खाली गर्न भनेका छन्।

‘सय वर्षकै खराब आँधी’

ट्याम्पा फ्लोरिडाका प्रहरीहरूले हरिकेन मिल्टनलाई ‘यो शताब्दीकै शक्तिशाली आँधी’ का रूपमा व्याख्या गर्दा मौसम अधिकारीहरूले यसलाई ‘क्याटगरी’ पाँचको आँधीका रूपमा वर्गीकरण गरेका छन्। आँधीको वेग २७० किलोमिटर प्रतिघण्टा हुने भनिएको छ। सो विपद्लाई ध्यान दिँदै फ्लोरिडाका बासिन्दाहरूलाई वर्षौँ यताको सबैभन्दा ठूलो ठाउँ छाड्ने प्रयासमा भाग लिन भनिएको थियो। ट्याम्पाका बासिन्दा स्टिभ क्रिष्ट आँधीबाट जोगिनका लागि आफ्नो डेन्टलको झ्याल र ढोकामा दह्रो बोर्डहरू लगाइरहेका छन्। उनले भने, “सबैजना गइसकेका छन्। मैले यो ठाउँ यति चुपचाप कहिल्यै देखेको थिइन्।”

त्यही बसिरहेका मानिसहरूले घरमा सावधानी अपनाइरहेका तस्बिरहरू सार्वजनिक गरिएका छन्। मौसमविद्हरूले भीषण वर्षा, आकस्मिक बाढी, तीव्र आँधी र हुरीको चेतावनी दिएका छन्। दुई साताअघिको हेलेन नामक आँधीले अमेरिकामा ६ राज्यमा गरेर कम्तीमा २२५ जनाको ज्यान लिएको थियो। सयौँ मानिसहरू अझै बेपत्ता छन्। ज्यान गुमाउनेमध्ये १४ जना फ्लोरिडाका थिए। सो आँधीले ट्याम्पामा पुर्‍याएको क्षति अहिले पनि देख्न सकिन्छ।

क्रिस्टले दन्त उपचारका क्रममा प्रयोग गर्ने एउटा कुर्सीमा पनि क्षति पुगेको र उनले ४३ वर्षमा पहिलो पटक आफ्नो कार्यालयमा बाढी प्रवेश गरेको बताए। साथै पर्खालको केही फिटमाथिसम्म पानी पुगेको देखाए। “यो अहिलेसम्म हामीले देखेको सबैभन्दा खराब अवस्था हो। योभन्दा धेरै क्षति हुनेछ। हामीले राम्रोको अपेक्षा गर्नुपर्छ, अहिले हामी त्यत्ति नै गर्नसक्छौँ।”

अमेरिकी सरकारले के गरिरहेको छ?

ह्वाइट हाउसमा मङ्गलवार बोल्दै बाइडनले यो आँधी फ्लोरिडाका लागि सय वर्षकै खराब हुनसक्ने बताए। उनले सङ्घीय सरकारले आँधीअघि, आँधी आइरहँदा र रोकिएपछि राज्यलाई सहयोग गर्ने वाचा गर्दै भने। हजारौँ सङ्घीय अधिकारीहरूलाई तैनाथ गरिएको पनि अधिकारीहरूले बताएका छन्। गभर्नर रन डेसान्टिसले आँधीबाट अलपत्र पर्ने मानिसहरूलाई लक्षित गर्दै दर्जनौँ सुरक्षित आश्रयस्थल बनाइएको जानकारी दिए।

“हामीले बनाएका त्यस्ता स्थानमध्ये एकमा दश हजार जनालाई राख्न सक्छौँ । अरूमा पनि केही हजार राख्न सकिन्छ। तर ती अन्तिम विकल्प हुँदैनन्।” उनले भने। सोमवार उनले उक्त आँधी ‘दानव’ जस्तो हुनसक्ने टिप्पणी गरेका थिए। मिल्टनको पूर्व तयारीलाई ध्यान दिँदै राष्ट्रपति बाइडनले जर्मनी र एङ्गोलाको भ्रमण रद्द गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply