माग्दीको विकट पात्लेगाउँमा विद्युतसेवा विस्तार

२८ असोज धनगढी
म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ।

नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा विद्युतीकरण भएको हो।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका एक सय २० घरमा केन्द्रीय प्रशारण लाइनको विजुली बलेको जानकारी दिए। दसैंको समयमा गाउँमा बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ। पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए।

मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए।

विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ।

यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका –३ को लुप्सीपार, खतेन र मालिका–४ को ओखरबोटका पाँच सय घरमा केन्द्रीय लाइनको विद्युत सुविधा विस्तार भएको थियो।

जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र ढुंगाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो।

सोही ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो। मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैले गरेका हुन्।

धवलागिरी गाउँपालिका–२ खोरीया, लमसुङ र लुलाङमा तिहार अघिनै विद्युतीकरणको तयारी गरेको रविन्द्र ढुङ्गाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले बताए। आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका थिए। हालसम्म म्याग्दी वितरण केन्द्र अन्तरर्गत करिब २३ हजार विद्युतका ग्राहक छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply