गोलभेँडाको मूल्य प्रतिकिलो दुई सय रूपैयाँ!

४ कात्तिक धनगढी
बजारमा गोलभेँडाको मूल्य बढेको छ।

माग अनुसारको आपूर्ति नहुँदा गोलभेँडाको मूल्य बढेको कालीमाटी तरकारी बजारका गोलभेँडा व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

‘बाढी–पहिरोले प्रायः सबै टनेल डुबानमा परेको छ। बाटो अवरूद्ध हुँदा बाहिरी जिल्लाबाट पनि कालीमाटीमा गोलभेँडा आउन सकेको छैन,’ उनले भने, ‘त्यसैले मूल्य बढेको हो।’

उनका अनुसार गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक हो। यहाँभन्दा अघि गोलभेँडाको मूल्य यतिधेरै महँगिएको थिएन। उपभोेक्ताले बढीमा एक सय ५० देखि ६० रूपैयाँ तिरेका थिए।

गत महिना असोज दोस्रो सातातिर आएको अविरल वर्षाका कारण धेरै ठाउँमा बाढीपहिरो गयो। बाढीपहिरो गएलगत्तै विस्तारै गोलभेँडाको मूल्य बढ्दै गएको हो।

अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट २५ सयदेखि ३५ सय रूपैयाँसम्म पुगेको छ। दुई/तीन दिनअघि कालीमाटी बजारमा गोलभेँडा प्रतिक्रेट दुई हजारदेखि तीन हजार रूपैयाँमा बिक्री भएको गोलभेँडा व्यापारी ज्ञानेन्द्रले जानकारी दिए।

तिहारपछि भने विस्तारै गोलभेँडाको मूल्य सस्तिने उनको भनाइ छ।

‘अहिले डुबानबाट बचेका केही टनेलबाट गोलभेँडा आइरहेको छ,’ उनले भने, ‘तिहारपछि खुला ठाउँमा उत्पादन भएका गोलभेँडा पनि आउँछन्।’

उनका अनुसार हाल काठमाडौं र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आइरहेको छ।

बाहिरी जिल्लाबाट गोलभेँडा आएको छैन। बाहिरी जिल्लामा उत्पादन भएका धेरै जसो गोलभेँडा डुबानमा परे। बचेका गोलभेँडा पनि स्थानीयस्तरमा बिक्री हुँदा कालीमाटी बजारमा आएका छैनन्।

यसअघि काठमाडौं उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायतका जिल्लाबाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेको थियो।

बजारमा गोलभेँडा ठूलो, लोकल सानो र लोकल टनेल गरी तीन प्रकारको आउँछ। ठूलो गोलभेँडा र टनेल गालेभेँडा भने भारतबाट पनि भित्रिने गरेको छ।

व्यवसायीहरूका अनुसार ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादको रूपमा प्रयोग हुन्छ। त्यस्तै, साना लोकल गोलभेँडा घरायसी रूपमा खानामा प्रयोग हुन्छ।

ज्ञानेन्द्रका अनुसार भारतमा पनि बाढीका कारण गोलभेँडाको उत्पादन घटेको छ। उत्पादन घटेकाले त्यहाँबाट पनि ठूलो परिमाणमा आयात हुन सकेको छैन।

आइतबार कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय ३० देखि एक सय ४० रूपैयाँ छ।

त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य एक सयदेखि एक सय २० रूपैयाँ छ भने लोकल टनेल गोलभेँडा एक सय १० देखि एक सय ३० रूपैयाँ छ।

गोलभेँडाको होलसेल मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढेको छ।

हाल उपभोक्ताले गोलभेँडा ठाउँ अुनसार प्रतिकिलो एक सय ८० देखि दुई सय रूपैयाँ तिरेर किनिरहेका छन्।

सरकारले खुद्रा बजारमा गोलभेँडाको मूल्य अनुगमन गर्नु पर्ने ज्ञानेन्द्र बताउँछन्।

‘कालीमाटीमा राम्रो गोलभेँडा उपभोक्ताले प्रतिकिलो एक सय ६० देखि एक सय ८० रूपैयाँसम्म पाएका छन्,’ उनले भने, ‘त्यहाँभन्दा बढी मूल्य पर्न नपर्ने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply