बुढीतोलामा जमिन भित्रको पानी निकालेर सडक मर्मत गरिँदै

५ कात्तिक धनगढी
गत वर्ष साउनमा आएको पहिरोले बुढीतोलामा तसहनसह भएको सडक अझै कालोपत्रे हुन सकेको छैन । गत वर्ष पहिरोले नामनिसान मेटिएको सडक एक साता पछि सुचारु गरिएको भए पनि अझै कालोपत्रे भने हुन सकेको छैन । पहिरोले ७० मिटर सडक पुरै बगाएको थियो भने ३८० मिटर सडकमा क्षति पुगेको थियो । अहिले सडक मर्मतको काम जारी रहेको भए पनि सो क्षेत्रमा जमिन भित्र पानी भण्डारण भएका कारण मर्मतमा चुनौती थपिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले बताए ।

उनले सडक भएको क्षेत्रमा जमिन भित्र पानी भण्डारण भएकाले सो पानीको व्यवस्थापन गरेर मात्रै सडक मर्मत गर्नु पर्ने अवस्था रहेको बताए । हाल जमिन भित्रको पानी बाहिर निकाल्न सडक माथि ५ ओटा पोखरी निर्माण गरिँदै छन् । उक्त पानीको पोखरीमा जमिन भित्र पाइप हालेर निकालिएको पानी हाल्ने काम भइरहेको इन्जिनियर सिग्देलले बताए । ‘पानीको व्यवस्थापनका लागि ५ वटा पोखरी निर्माण गरिँदै छन’ उनले भने ‘जमिन भित्र करिब ३०÷४० हजार लिटर पानी जम्मा भएको देखिएकाले त्यसलाई निकाल्ने काम भइरहेको छ ।’ जमिन भित्रबाट निकालेर एक ठाउँमा भण्डारण गरिएको पानी पाइपमार्फत व्यवस्थापन गरेर मात्रै सडक निर्माण गर्न सकिने उनले बताए ।

सडकमा पहिरो जानु अघि पनि सो क्षेत्रमा जमिन भित्रबाट पानी आउने गरेको थियो । गत वर्ष बर्सातको समयमा जमिन भित्र धेरै पानी जम्मा हुँदा ब्लास्ट भएर पहिरो गएको प्राविधिकहरूको अनुमान छ । पहिरो गएपछि भने सो क्षेत्रमा जताततैबाट पानी बग्न थालेपछि सो क्षेत्र दलदलमा परिणत भएको थियो । जसले गर्दा सडक निर्माणमा समस्या हुँदै आएको छ ।

हाल सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरो व्यवस्थापनको लागि छुटै ठेक्का मार्फत काम अगाडि बढाएको छ । जसका लागि ग्वासी हटैराज जेभी सँग ६ करोड ४० लाखमा ठेक्का सम्झौता भएको छ । उक्त ठेक्का अन्तरगत सडकमा बगिरहेको पानी व्यवस्थापन सँगै सडकको वाल निर्माण गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर सिग्देलले बताए ।

उनले पहिरोको पूर्ण व्यवस्थापन भएपछि मात्रै सडक कालोपत्रेका लागि नयाँ ठेक्का गरेर काम अघि बढाइने बताए । सडकको पहिरो व्यवस्थापनका लागि ग्वासी हटैराज जेभी सँग वैशाख २७ गते ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार बुढीतोलाको उक्त सडक सँगै सो भन्दा तल गोदावरी सम्म भासिएका तीन ठाउँमा सडकमा वाल निर्माण गरिने जनाइएको छ ।

जसका लागि पुस २७ गते सम्मको म्याद तोकिएको छ । हाल बुढीतोलामा निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । तर, सो क्षेत्रमा सडक कालोपत्रे नहुँदा भने सवारी साधन सञ्चालनमा भने समस्या हुँदै आएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले सामान्य ग्राभेल गरेर सडक सञ्चालनमा ल्याउने काम गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply