१७ कार्तिक धनगढी
कार्तिक शुक्ल प्रतिपदा अर्थात् आज गोवर्धन पर्वत, गाई पूजा र गोरु पूजा गर्नाले वा त्यसको अङ्ग अन्तर्गतका सम्पूर्ण पूजन गर्नाले ठुलो पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
कार्तिक मास माहात्म्य वर्णन गरे अनुसार आजको दिन भक्ति भावपूर्वक गोवर्द्धन पर्वत र गौमाताको पूजा गर्नाले माता महालक्ष्मी र सरस्वतीको सदैव कृपा प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । सबेरै स्नान गरेर शुद्ध वस्त्र धारण गरी आफूले घरमा दैनिक गर्ने पूजाहरू सम्पन्न गरेर गोवर्धन पर्वत,गाई र गोरुको पूजा गरेर मात्र भोजन गर्नुपर्दछ ।
गाईगोठमा दाया तर्फ दियो, बिचमा गणेश र बायाँ तर्फ कलश र छेवैमा गोवर्धन पर्वतको स्थापना गरेर पूजा गर्नुपर्दछ । तामाको भाडा पानी राखी जौ, तिल, चन्दन, कुशको टुक्रा र सिक्का राखी कर्मपात्र बनाउनु पर्दछ ।
भाडा वा दुनोमा फुल चन्दन अक्षता राखेर अर्घ तयार पार्नु पर्दछ । गौमाता वा गोरुको लागी नैवेद्यको रूपमा मिठा भोजन बनाउनु पर्दछ । धूप, बाती र भेटी पनि तयार पार्नुपर्दछ । यति सामान तयार पारिसकेपछि दियो बाल्नु पर्दछ ।
हेमाद्रिमा र निर्णयामृतमा उद्धृत स्कन्दपुराणको वचनमा गोवर्धन पूजा र मार्गपालीपूजा अर्थात् तोरणपूजाबारे वर्णन गरिएको छ । प्रतिपदा वा आजको दिन प्रातकालमा गोवर्धन पूजा गर्नुपर्छ । त्यसपछि गाईहरूलाई सजाएर सम्पूर्ण गाई एवं गोरुहरूको पूजा गर्नुपर्दछ ।
पूजा गर्दा चित्रात्मक गोबरद्वारा निर्माण गरिएको गोवर्धन पर्वत बनाई विधिपूर्वक पूजा गर्नुपर्दछ । ॐगोवर्धन धराधराय नम : इत्यादि मन्त्रद्वारा पूजा गरी हे गोवर्धन ! हे पृथ्वीका आधार ! हे गोकुलका रक्षक ! तिमीले एक्लै हजारौँ वृक्षहरूले दिने छायाप्रदान गर्दछौ । यो पूजाबाट प्रसन्न भई कोटी कोटी गोधन मलाई प्रदान गर भनी गोवर्धन पर्वतको ध्यान गर्नुपर्दछ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हातले गोवर्धन पर्वतलाई उचाली मुसलधारे वर्षाबाट सम्पूर्ण गोकुलवासीको रक्षा गर्नुभएको स्मरणमा गोवर्धन पर्वत बनाई पूजा गरिन्छ भन्ने मान्यता रहेको छ । प्रकृतिको स्वरूप मानेर गोवर्धन पर्वतको पूजा गरिन्छ । अन्न, जल र बाच्ने वातावरण दिने प्रकृतिलाई सम्झेर गोवर्धन पर्वतको पूजा गरिन्छ । फलफूल, जल, नैवेद्य आदि सामानहरू अर्पण गरेर प्रसाद ग्रहण गर्नुपर्दछ । स्थान विशेष गोवर्धन पर्वको पूजा फरक फरक शैली अपनाएको पाइन्छ ।
कर्मपात्रमा राखिएको कुशको टुक्रा लिएर आफ्नो गोत्र र नाम लिएर ३३ कोटि देवता धारण गरेकी हे गौमाता मेरो पूजा देखी खुसी भएर आशीर्वाद दिनुहोस् भनी जल छोडिदिनुपर्दछ । लक्ष्मीर्या इत्यादि मन्त्रद्वारा गाईको प्रार्थना गर्नुपर्दछ ।
जुन गाई लोकपालहरूकी लक्ष्मी बनेर रहेकी छिन र जुन गाई यज्ञका लागी घिउको भण्डार बनेर रहेकी छिन् तिनले मेरा सबै पाप शमन गरुन् भनी गाईको सम्पूर्ण अङ्गहरूमा पूजा गर्नुपर्दछ । सिङ र खुरहरूमा तेल लगाई मालिस गर्नुपर्दछ । सयपत्री फुलको माला लगाई मिठामिठा भोजन गराई निम्न मन्त्र पढी प्रार्थना गर्नुपर्दछ ।
ॐ सर्वदेवमये देवी लोकानां शुभनंदिनी ।
मातमर्माभिषितं सफलं कुरु नंदिनि ।।
ॐ वसुदेव सुतं देवं, कंस चाणूर मर्दनम् ।
देवकी परमानन्दं, कृष्णं वन्दे जगद्गुरुम् ।।
ॐ आवाहयाभ्याम् देवीं, गां त्वां त्रैलोक्यामातरम् ।
यस्यां स्मरणमात्रेण, सर्वपाप प्रणाशनम् ।।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाधेको डोरो आज गाईको पुच्छरमा बान्नाले मृत्यु पर्यन्त वैतरणी नदी तर्न सजिलो हुन्छ भनी शास्त्रमा उल्लेख गरिएको छ । अन्तमा धूप बालेर पूजा स्थलमा राख्नु पर्दछ । सम्भव भएसम्म पञ्चकन्याहरूलाई दक्षिण दिई भोजन गराई समापन गर्नुपर्दछ ।
हरि: ॐ तत्सत् ।