उपनिर्वाचनका लागि लुम्बिनीका स्थानीय तहमा उम्मेदवार छनोट गर्दै दलहरू

२३ कात्तिक धनगढी
आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदैछ । सोही अन्तर्गत लुम्बिनी प्रदेशमा स्थानीय तहका ६ पदमा उपनिर्वाचन हुँदैछ । ती सबै पदमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा टुङ्ग्याएका छन् । बाँकी केही स्थानमा टुङ्ग्याउने तयारी रहेको ती दलको भनाइ छ ।

लुम्बिनीमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनमा रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था अनुसार उपनिर्वाचनको तयारी गरिएको हो ।

गत भदौ २८ गते सवारी दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएकी थिइन् ।

उक्त गाउँपालिका–२ का वडाअध्यक्ष जस बहादुर श्रीपासीको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो । २०७९ को निर्वाचनमा पुथा उत्तरगंगामा एमाले, माओवादी, कांग्रेस एक्लाएक्लै निर्वाचनको मैदानमा जाँदा माओवादीले जितेको थियो ।

अहिले एक्लै निर्वाचनको मैदानमा जाने मनसायमा दलहरू देखिन्छन् । रुकुम पूर्व माओवादी केन्द्र जिल्ला संयोजक कुमारी बरालले पालिकाबाट उम्मेदवारको सिफारिस आउने क्रममा रहेको बताइन् । केन्द्रीय निर्देशन अनुसार अहिले एक्लाएक्लै चुनावी मैदानमा जाने भएकाले आफ्नो विरासत जोगाउने रणनीतिका साथ प्रतिस्पर्धामा उत्रिने हुने उनको भनाइ छ ।

एमाले जिल्ला अध्यक्ष लीला मणि गौतमका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिमा उपाध्यक्षमा केश कुमारी तुलाचनको र वडा अध्यक्षमा जीवन रोकालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

उनले केन्द्रमा सहकार्य गरेको नेपाली कांग्रेससँगै सहकार्य गर्ने विषय पहिलो प्राथमिकतामा राखिएको बताए । गत प्रदेश सभा निर्वाचनमा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गरेका कारणले अहिले उक्त पार्टीसँग पनि सहयोग माग्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस जिल्ला उपसभापति एवं कार्यवाहक अध्यक्ष भीम बहादुर खड्काका अनुसार पालिकाबाट उपाध्यक्षमा ५ जनाको र वडा अध्यक्षमा दुई जनाको नाम सिफारिस भएर आएको छ ।

उपाध्यक्षमा नन्द बहादुर सुनुवार, जय बहादुर बुढा, कमला मल्ल, रविना घर्ती र सूर्य कुमारी बुढाको नाम आएको जानकारी दिँदै उनले प्राप्त नाममाथि छलफल चलिरहेको बताए । यस्तै वडा अध्यक्षमा कमाई बुढा र कर्णबहादुर बुढा नाम आएको उनले बताए ।

सिफारिस भएकामध्ये कमाई पुराना कांग्रेस नेता हुन् भने कर्ण बहादुर यसअघिको निर्वाचनमा पराजित उम्मेदवार हुन् ।

गुल्मी मुसिकोटमा यस अघि नेपाली कांग्रेसबाट चुनाव जितेका मोहन घिमिरेको मृत्यु भएपछि अहिले उपनिर्वाचन हुँदैछ । यहाँ नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ र एमालेबाट दलबहादुर थापा उम्मेदवार बनेका छन् । माओवादीले पनि छिटै उम्मेदवार टुङ्ग्याउने गरी छलफल चलिरहेको जिल्ला अध्यक्ष तेजेन्द्र सलामीले बताए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष तिलकराम यादवको मृत्यु भएपछि अहिले उनका छोरा दिनेश कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति अब्दुल कलामले रातोपाटीलाई बताए । यहाँ एमाले, माओवादी र मधेसवादी दलहरूले पनि उम्मेदवारी दिने चर्चा छ । तर अन्य दलले उम्मेदवार टुङ्गो लगाइसकेका छैनन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले बेगम पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले रोल्पा जिल्ला अध्यक्ष अमर बुढाले रातोपाटीलाई बताए । माओवादीले उम्मेदवार छान्न बाँकी छ । यहाँ यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा ठुला दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् । यसअघि नेपाली कांग्रेसले चुनाव जितेको यो ठाउँमा अहिले कांग्रेसबाट सोही वडाका कार्यवाहक अध्यक्ष अनिल थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको बर्दियाका कांग्रेस जिल्ला सचिव जग्गाप्रसाद पाण्डेयले रातोपाटीलाई बताए ।

यहाँ एमालेले विष्णु प्रसाद देवकोटा र माओवादीले शेरबहादुर थारुलाई उम्मेदवार बनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply