देश विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्ने : राष्ट्रपति पौडेल

२४ कात्तिक धनगढी
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताउनुभयो ।

“मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत आलोक हो”, उहाँले भन्नुभयो, “लोकतन्त्रको यही आलोकलाई मानेर हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।”

मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताउनुभयो । “मुलुकबाट विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडिएका जनताको आवाज सुनेर उनीहरुका समस्या सम्बोधन गर्न सरकारले नीति एवं कार्यक्रम तर्जुमा गरी तीनलाई कार्यान्वयन गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहकाबारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै उहाँले भन्नुभयो, “गणेशमानजी साहसी र सङ्घर्षशील मात्र हुनुहुन्नथ्यो, उहाँ भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।” नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा गणेशमान सिंहको योगदानलाई नेपाली जनताले कहिल्यै नबिर्सने उहाँले बताउनुभयो । “लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नु हुने गणेशमानजीले यसको मूल्यमा कहिल्यै सौदाबाजी गर्नुभएन, उहाँको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

लोकतान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य-मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रका लागि हितकर हुन सक्दैन भन्नुभयो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानको समीक्षा गरी आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताउनुभयो । “संविधानका सबै पक्षको वस्तुनिष्ठ समीक्षा गरी आवश्यकता र नागरिक आकाङ्क्षाअनुसार संविधान संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिष्ठान अध्यक्ष भीमसेन दास प्रधानले असल राजनीतिज्ञ तथा नेताको पहिचान क्रान्तिका क्रममा नभई जिम्मेवारी पाउँदा देखिने चर्चा गर्दै गणेशमान सिंह विभिन्न राजनीतिक आन्दोलनको कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो भन्नुभयो । देशमा समावेशिताको ‘एजेण्डा’ स्थापना गर्नमा गणेशमान सिंहले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नेताको चरित्र कस्तो हुनुपर्छ भनेर गणेशमान सिंहबाट सिक्नुपर्ने बताउनुभयो । त्यसअवसरमा लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा योगदान गरेबापत प्राध्यापक कपिल श्रेष्ठलाई ‘जनआन्दोलन स्वर्णपदक’बाट सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply