२ मंसिर धनगढी
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
यस दिन नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा बन्द भएको छ।
आइतबार ११ अर्ब ७२ करोडको सेयर कारोबार भएको छ।
यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोडको सेयर कारोबार भएको थियो।
आजको यो रकम गत साढे दुई महिना यताकै उच्च हो।
आज ३२६ वटा धितोपत्रको दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच भएको हो।
आइतबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यस्तै, छ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, समृद्धी फाइनान्स र गुराँस लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य क्रमशः ८७४ रूपैयाँ ८० पैसा र दुई हजार ७५२ रूपैयाँ २० पैसामा झरेको छ।
आइतबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ५७१ रूपैयाँमा ४५ करोड १७ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.३५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८७४ रूपैयाँ ८० पैसामा ४१ करोड ८२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक बढेको छ भने बाँकी चार वटाको घटेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले घटेको छ।