२०८० को दसैँअघि आउनुपर्ने अनुदानको चिनी अझै आएन

४ मंसिर धनगढी
सरकारले २०८० को दसैँअघि ल्याउनुपर्ने अनुदानको चिनी अझैसम्म पनि ल्याउन सकेको छैन । गत वर्ष भारतले दिएको कोटाबापतको बाँकी करिब ८ हजार मेट्रिक टन चिनी सरकारले गएको दसैँअघि ल्याउने जनाएको थियो ।

गत वर्ष भारतले नेपालका लागि २५ हजार मेट्रिक टन चिनी आयात गर्न कोटा तोकेको थियो । उक्त चिनी ल्याउन सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिएको थियो ।

सरकारले साल्ट र खाद्यलाई चिनी आयात गर्न ५० प्रतिशत भन्सार छुटसमेत गरेको थियो । तर साल्ट र खाद्यले भारतमा चिनी महँगो भएको भन्दै आयात गरेनन् । त्यसपछि निजी कम्पनी डाबर नेपालले ६ हजार मेट्रिक टन चिनी आयात गरेको थियो । त्यसपछि १९ हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने थियो ।

चाडपर्वको मुखैमा सरकारले चिनी आयात नगर्दा चिनी अभावका कारण उपभोक्ताले निकै सास्ती खेप्नु परेको थियो । चिनी अभाव हुँदा व्यापारीहरुले चर्को मूल्यमा बिक्री गरेका थिए । सरकारले सहुलियत पसलमार्फत प्रतिकिलो ११५ रुपैयाँमा बिक्री गरेको थियो । घण्टौँ लाइन बसेर चिनी किन्नुपर्ने बाध्यता थियो ।

२०८० को आयात हुन बाँकी १९ हजार मेट्रिक टन चिनी आयातका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असारमा १० कम्पनीलाई अनुमति दिएको थियो । तर ती उद्योगले पनि चिनी ल्याउन चाहेनन् । उद्योगले नल्याएपछि वाणिज्य विभागले ७ व्यापार कम्पनीलाई चिनी आयात गर्ने अनुमति दिएको थियो ।

तीमध्ये तीन कम्पनीले ८ हजार १०० मेट्रिक टन चिनी गएको दसैँअघि आयात गरेका छन् । एक कम्पनीले २ हजार ८०० मेट्रिक टन चिनी नल्याउने विभागलाई जानकारी दिएको थियो । बाँकी तीन कम्पनी चिनी ल्याउने प्रक्रियामा थिए । तर उद्योग मन्त्री दामोदर भण्डारीले ती चारवटै कम्पनीले ल्याउनुपर्ने चिनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई अनुमति दिएका थिए ।

भारतले गत वर्षदेखि चिनी निर्यातमा बन्देज लगाएको छ । केही मुलुकमा कोटामार्फत चिनी निर्यात गर्दै आएको छ । गत वर्ष नेपालका लागि २५ हजार कोटा तोकेको थियो । सो चिनी आयात गर्न प्रक्रिया झन्झटिलो भएका कारण चिनी आयातमा ढिलो भएको विभाग प्रमुख अनन्तराज पौडेलको भनाइ छ ।
चार कम्पनीले ल्याउनुपर्ने चिनी १० हजार ९०० मेट्रिक टन हो । योमध्ये मन्त्री भण्डारीले साल्ट र खाद्यलाई ५ हजार ४५० मेट्रिक टनका दरले चिनी ल्याउने अनुमति दिएका थिए ।

सो चिनी अझैसम्म ल्याइनसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ । खाद्यले ल्याउनुपर्ने कोटाको चिनीमध्ये १० हजार ९९ क्विन्टल अर्थात् १०००.९९ मेट्रिक टन चिनी आयात गरेको खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।

‘तिहारअघि १५०० क्विन्टल आयो । दोस्रो चरणसम्म १० हजार ९९ क्विन्टल चिनी नेपाल आइसकेको छ,’ पौडेल भन्छन्, ‘यो चिनी हामीले विभिन्न शाखा कार्यालयहरुमा पठाइसकेका छौँ । बाँकी चिनी भारतबाट आउने क्रममा छ ।’

झन्झटिलो आयात प्रक्रियाका कारण ढिलाइ

भारतले गत वर्षदेखि चिनी निर्यातमा बन्देज लगाएको छ । केही मुलुकमा कोटामार्फत चिनी निर्यात गर्दै आएको छ । गत वर्ष नेपालका लागि २५ हजार कोटा तोकेको थियो । सो चिनी आयात गर्न प्रक्रिया झन्झटिलो भएका कारण चिनी आयातमा ढिलो भएको विभाग प्रमुख पौडेलको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय व्यापार सजिलै ल्याउन सकिँदैन । भारतबाट चिनी निर्यात बन्देज छ । एनसीइएलमार्फत चिनी आयात गर्ने हो । उसले विस्तारै विस्तारै दिन्छ अनि आउँछ,’ पौडेलले भने । एउटै निकायबाट आयात गर्नुपर्ने भएकाले साल्ट ट्रेडिङले पनि सोही परिमाणमा आयात गरेको उनले बताए ।

३० हजार मेट्रिक टन चिनी कहिले आउँछ ?

यसैगरी सरकारले यो वर्षको दसैँअघि खाद्य र साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा भारतबाट ३० हजार मेट्रिक टन चिनी ल्याउने अनुमति दिएको थियो । भारतले कोटाबापत दिने सो चिनी ल्याउने प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।

गत वर्षको कोटाको चिनी आयात गर्ने क्रममा रहेकाले यो चिनी ल्याउन नसकेको खाद्यले जनाएको छ । खाद्यका खरिद विभाग प्रमुख पौडेलले अघिल्लो कोटाको चिनी नल्याइ अर्को चिनी ल्याउन नमिल्ने बताए ।

‘त्यो चिनी ल्याउने प्रक्रियामा गएका छैनौँ । भारतले पुरानो कोटा नल्याएसम्म नयाँ चिनी ल्याउन दिएको छैन । पुरानो कोटाको चिनी आएपछि आयात प्रक्रिया थाल्छौँ,’ उनले भने ।

सरकारले कोटाको चिनी आयात नगरे पनि यो वर्ष अभाव भएन । सरकारले सहुलियत मूल्य पसलबाट १०७ रुपैयाँमा बिक्री गरेको थियो । यो वर्ष साल्ट र खाद्यसँग पर्याप्त चिनी मौज्दात रहेकाले चिनी अभाव नभएको पौडेल बताउँछन् । यस्तै निजी व्यापारीसँग पनि मौज्दात रहेकाले चिनी अभावको समस्या नआएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply