सुकुटी बेचेर मासिक दुई लाख आर्जन

७ मङ्सिर धनगढी
मोरङ बेलबारी-११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।

विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनको भनाइ छ ।

रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा ६ सयदेखि सात सय किलोे सुकुटी बनाउने गरेका छन् । उनका अनुसार स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन । विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुऱ्याउन नसकिरहेको श्रेष्ठ बताउँछन् । प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उनी बताउँछन् ।

वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठले नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले जानकारी दिए । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply