भारतले बिजुली नदिँदा उद्योगमा बल्झियो ‘लोडसेडिङ’

३ पुस धनगढीः
भारतले साँझको ‘पिक’ समयमा बिजुली नदिँदा उद्योगहरूमा लोडसेडिङ गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

अहिले नेपालमा पिक समयमा बिजुलीको माग १९०० मेगावाटसम्म छ। तर हाम्रो उत्पादन १३ देखि १४०० मेगावाट मात्र भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।

‘पहिले हामीसँग माथिल्लो तामाकोशी थियो र पिक आवरमा पनि बिजुली व्यवस्थापन गर्न सकिरहेका थियौं। बाढीपछि माथिल्लो तामाकोशीबाट उत्पादन गर्न सकिएको छैन। जसले गर्दा उद्योगहरूमा बिजुली काट्नुपर्ने समस्या आएको छ,’ प्रवक्ता घोषले सेतोपाटीसँग भने।

भारतले साँझ ५ बजेदेखि राति ९ बजेसम्मको समयमा बिजुली दिएको छैन।

त्यो बाहेकका समयमा हाम्रै बिजुलीले माग धानिरहेको घोषले बताए।

‘अरू समयमा त हाम्रै बिजुलीले जसोतसो माग धानिरहेको छ। त्यति धेरै आवश्यकता पर्दैन। आवश्यकता हेरेर अरू समयमा चाहिँ भारतबाट ५० देखि १०० मेगावाट आयात गरिहरेका छौं,’ उनले भने।

अब ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरू नभएसम्म बढी विद्युत माग हुने साँझको पिक समयमा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुबाहेक विकल्प नदेखिएको घोषले बताए।

‘उद्योगमा त जेनेरेटर पनि छ। त्यसबाट पनि चल्छ। तर, सर्वसाधारणसँग अन्य विकल्प छैन। त्यो कारण हामीले उद्योगहरूमा बिजुली काट्ने निर्णय गरेका हौं,’ घोषले थपे।

प्रवक्ता घोषका अनुसार अहिले उद्योगमा ४०० देखि ५०० मेगावाटसम्म बिजुली माग छ।

चिसोका कारण यही समयमा अन्य प्रयोजनका लागि पनि बिजुलीको माग बढिरहेको छ। तर हिउँदयाम सुरू भएसँगै हाम्रा खोला तथा नदीहरूमा पानी घटेको छ। यसले गर्दा नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घटेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले हिउँदयामको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत आयात गर्दै आएको थियो। तर, केही समयदेखि भारतले पिक समयमा बिजुली दिएको छैन।

अझ यो वर्ष सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए।

घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको बताए। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्‍याएको थियो।

आगामी पुस १० गतेभित्र विद्युत उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत सम्भार भइरहेको प्राधिकरणको भनाइ छ।

विद्युत माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म विद्युत आयात अनुमति दिएको छ।

तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ। त्यसपछि २०८१ चैत ३ देखि २०८२ असार १६ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत आयात गर्न समेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए।

‘पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत केही कटौती गर्नुपर्ने अवस्था छ,’ घिसिङले भने।

गत शुक्रबार बिहान ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत आपूर्ति प्रभावित भएको थियो। उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत आपूर्ति नियमित भएको छ।

यसैगरी, दार्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रूख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ। उक्त लाइनको मर्मत भइरहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply