५८९ करदाताबाट ६ महिनामा एक खर्ब १५ अर्ब राजस्व

माघ १ धनगढी
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ठुला करदाताहरू मार्फत करिब एक खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। वार्षिक एक अर्ब रूपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाता निकायहरूलाई ठुला करदाता भन्ने गरिन्छ।

ठुला करदाता कार्यालयबाट प्रशासन गरिने यस्ता करदाता ५८९ मात्रै छन्।

औसत रूपमा यस्ता करदातबाट संकलन हुने राजस्वमा सुधार देखिएको छ। विशेष गरी पुस महिनामा यी करदाताले बुझाउने राजस्वले ठुलो अर्थ राख्ने गर्छ।

आर्थिक ऐनको व्यवस्था अनुसार चालु वर्षमा हुने अनुमानित (आकलन गरिएको) आयको आधारमा तिर्ने कर मध्ये पुसमा ४० प्रतिशत बुझाउनु पर्ने हुन्छ। यस्ता करदाताहरूबाट पुस महिनामा संकलन हुने राजस्व मात्रै ४६ अर्ब ३५ करोड रूपैयाँ छ।

ठुला करदाताको कार्यालयबाट गत वर्षको पुस महिनामा उठेको राजस्वको तुलनामा ३२ प्रतिशत बढेको छ। गत वर्ष पुस महिनामा ३५ अर्ब आठ करोड रूपैयाँ मात्रै संकलन भएको थियो।
‘पुसमा आयकर धेरै उठ्ने हो। आयकर बढी हुनुको अर्थ आम्दानीमा सुधार आएको हो। यस्तो राजस्व बढ्नुले करदाताको आयमा सुधार आएको संकेत गरेको छ’ ठुला करदाता कार्यालयमा प्रमुख कर प्रशासक रमेश अर्यालले बताए।

यो कार्यालयबाट पुस मसान्तको दिन अर्थात् हिजो मात्रै १० अर्ब बढीको कर राजस्व संकलन भएको थियो। त्यस्तै पुस महिनाभर ४६ अर्ब ३५ करोड र साउनदेखि पुस महिनासम्मको अवधिमा करिब एक खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।
आन्तरिक राजस्व विभागको स्रोत अनुसार धेरै कम्पनीहरूको आय करमा सुधार देखिए पनि सरकारी संस्थानको आयकर उल्लेख्य घटेको छ। यसको अर्थ यस्ता कम्पनीले यो वर्ष गर्ने आय कम हुने आकलन गरेका छन्।

स्रोतका अनुसार सरकारी संस्थान र केही बैंक तथा वित्तीय कम्पनी गरी १२ वटा निकायबाट गत वर्षको भन्दा करिब तीन अर्ब आयकर कम संलन भएको छ।
जस्तै नेपाल दूरसञ्चार प्राधिकरण गत वर्ष पुस महिनामा ४० करोड कर आयकर संकलन गरेको थियो। यो वर्ष भने यस्तो कर उपलब्ध गराएको छैन।
आगामी किस्तामा आम्दानी हुन सक्ने आकल गरिएमा कर बुझाउनु पर्ने हुन्छ।

विद्युत प्राधिकरणबाट संकलन हुने आयकरको पहिलो किस्ता पनि घटेको छ। गत वर्ष ६५ करोड तिरेकोमा यो वर्ष ५० करोड मात्रै तिरेको छ। नेपाल टेलिकमले गत वर्ष पहिलो किस्तामा ८० करोड आय कर बुझाएको थियो। अहिले जम्मा २५ करोड बुझाएको छ।

अन्य केही निकाय र प्राइभेट बैंक तथा वित्तीय संस्थाबाट गत वर्षको बराबरकै आय अनुमान गरिएको भएन तीन अर्ब बढी राजस्व संकलन बढ्ने थियो। यद्यपि समग्र रूपमा राजस्व र आयकरमा सुधार देखिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार पुस महिनासम्म दुई खर्ब ७२ अर्ब २४ करोड रूपैयाँको आन्तरिक राजस्व संकलन भएको छ। गत वर्ष पुस महिनासम्म दुई खर्ब ४६ अर्ब राजस्व संकलन भएको थियो। त्यस्तै यो वर्षको पुस महिनामा तीन खर्ब २१ अर्बको राजस्व संकलनको लक्ष्य राखिएको थियो।

समग्र ६ महिनामा अपेक्षित राजस्व नउठे पनि विशेषगरी पुसमा राम्रो सुधार देखिएको छ। आन्तरिक राजस्व विभाठबाट चालु वर्षको पुस महिनामा करिब ८५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष पुस महिनामा जम्मा ७२ अर्ब नौ करोड संकलन भएको थियो।

२०७९ को पुस महिनामा ७१ अर्ब १५ करोड रूपैयाँ संकलन भएको थियो।

‘समग्र रूपमा हामीले लक्ष्य भेटाउन सकेका छैन। यद्यपि विगतका वर्षहरूसँग तुलना गर्ने हो भने राजस्व बढेको छ। पुस महिनामा आयकरमा सुधार देखिएको कारण आर्थिक क्रियाकलाप बढेको तथा करदाताले आय सुधार हुने आकलन गरेको बुझिन्छ,’ आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने।

पुस महिनामा आयकरमा करिब २१ प्रतिशतको वृद्धि छ। समग्र आयकर मात्रै एक खर्ब २२ अर्ब रूपैया पुगेको छ। हालसम्म संकलन भएको राजस्वको तुलनामा आयकरको हिस्सा २२ प्रतिशत पुगेको छ।

यो वर्ष उल्लेख्य रूपमा ब्याज आम्दानीमा लाग्ने कर घटेको छ। ब्याजबाट गरेको आम्दानीमा ६ प्रतिशत कर लाग्ने गरेको छ। यो वर्ष यस्तो राजस्‍व ३१ प्रतिशतले घटेको छ। ब्याजदर नै घटेको कारण यसबाट संकलन हुने राजस्व घटेको राजस्वका अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply