माघ ४ धनगढी
लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ । दुई पक्षबिच युद्धविराम गर्ने तथा एकअर्काले बनाएका बन्धक छाड्ने सम्झौता भएसँगै युद्धविराम भएको हो । करिब १५ महिनादेखि जारी युद्ध अब छ साताका लागि अस्थायी विराम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि पटक पटक युद्धविरामका लागि वार्ताको पहल भए पनि भङ्ग हुँदै आएको थियो ।
कतार र अमेरिकाको मध्यस्थताबिच बिहीबार युद्धविराम भएसँगै हमास र इजरायल दुवै पक्षका आमनागरिकमा खुसी छाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धविराम सम्झौता भएको पुष्टि गर्दै मध्यस्थकर्ता मुलुक कतारका प्रधानमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आउँदो आइतबारदेखि युद्धविरामको औपचारिक कार्यान्वयन हुने प्रतिक्रिया दिए । यसबिचमा इजरायली मन्त्रीपरिषद्को बैठकले त्यस सम्झौतालाई स्वीकृति दिँदै वैधता प्रदान गर्ने उनले प्रस्ट परे ।
त्यस्तै अर्को मध्यस्थकर्ता मुलुक अमेरिकाका राष्ट्रपति जोए बाइडेनका अनुसार युद्धविराम सम्झौताबमोजिम गाजा क्षेत्रबाट इजरायली सैनिक फिर्ता हुने छन् । साथै हमासले बन्दी बनाएका सबै बन्धकको रिहाइको कार्य अघि बढाइने छ । जसको सुरुवातमा केही इजरायली बन्धकहरू छाड्ने छन् । लगत्तै इजरायलले पनि प्यालेस्टिनी बन्धकहरू छाड्नेसँगै केही क्षेत्रबाट आफ्ना सैनिक जत्था हटाउने छ । सिएनएनले सार्वजनिक गरेको रिहाइका चरणमध्ये पहिलोमा हमासद्वारा छाडिने ३३ जनामा इजरायली नागरिक, महिला सैनिक, बालबालिका, वृद्धवृद्धा र बिरामी नागरिक रहने छन् ।
विपिन दोस्रो चरणमा छुट्ने अपेक्षा
हमासले इजरायल सरकारलाई पठाएको बन्दी रिहाइको सूची अनुसार हमासले बन्धक बनाएका ८४ जना विदेशी नागरिक थिए । जसमा नेपालका एक जना विपिन जोशी, थाइल्यान्डका आठ जना, अमेरिकाका सात जनामध्ये बाँचेका तीन जना छुट्ने तयारीमा छन् । नेपालका विपिन जोशीसहितका अधिकांश विदेशी नागरिक दोस्रो चरणमा रिहा हुने अनुमान गरिएको छ । पहिलो चरणमा छुट्ने एक जना अमेरिकी नागरिक मात्र रहेको जनाइएको छ । इजरायली नागरिकको रिहाइको हकमा हरेक साता तीन जना छाडिने हमासका उच्च अधिकारीले जनाएका छन् । बदलामा युद्ध सुरु भएलगत्तै ८ अक्टोबरमा इजरायलले पक्राउ गरेका एक हजार बन्दीमध्ये आजीवन कारावास पाएका समेत ११० जना रिहा गर्ने सम्झौता भएको छ ।