माघ ७ धनगढी
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।
‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो समाजिक संजालमा ब्यापक सार्वजनिक भए पछि छानविन सहित कार्वाही प्रक्रिया अघि बढेको हो । भिडियो सार्वजनिक भएपछि मात्र प्रहरीले जाँचबुझका लागि प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती असई गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको मिश्रले जानकारी दिए । उनका अनुसार घटना गत पुस १५ गतेको हो ।
कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ । ती व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।
छानबिन समिति गठन
घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।