राज सरगम
माघ १२ धनगढी
गुरही अर्थात् नागपञ्चमीको दिन पूर्वकमलरी, कमलरीमुक्त अभियानकी अभियन्ता उर्मिला चौधरी कोहलपुर मेडिकल हस्पिटलमा बुवाको उपचार गर्दै थिइन्।
बुवाको उपचारमा क्रमशः सुधार आएसँगै आइसियुबाट निकालेर उनी बुवासँग गफिन थालिन्। अचानक मोबाइलमा ल्याण्डलाइनबाट फोन आयो । उठाइन्— हेलो ।
‘तपाईं उर्मिला चौधरी हो?’
‘हो, उनले भनिन्।
‘म अमेरिकी दूताबासबाट बोल्दै छु’ उताबाट भनियो, ‘तपाईं ग्लोबल एन्टी रेसिज्म च्यापिम्पन अवार्डमा छनोट हुनुभएको छ। यही जानकारी दिन कल गरेको हुँ।’
कल काटियो। उनी अन्याेलमा परिन् र आइसियुबाट निकालिएको बाको आँखामा गहिरो हेरिन् र रौँ कि हाँसौ भइन्। यो खुसीको कुरा सुनाउन उनी आतुर भइन् तर दूतावासले ‘अहिले यो सूचना गोप्य राख्नुहोला’ भनेको सम्झिन्। र पनि उनले मन थाम्न सकिनन् । अस्पतालको बेडमा उपचार्थ बालाई विस्तारै अवार्ड पाउने कुरा कानमा भनिन्।
अनि उनका बुवाले आफूले लगाएको मास्क निकाल्दै भने— ‘त्यसो भए अब तिमी ठूलो जहाज चढ्छौं है।’
उनले हलुका टाउको हल्लाइन्। बितेको कुनै एक दिन कार्यक्रमको लागि बाआमालाई नेपालगञ्जबाट काठमाडौं जहाजमा ल्याएकी थिइन् उनले। त्यतिखेर उनको बुवाले कौतुहल हुँदै ‘संसारमा यस्तै जहाज हुन्छ?’ भनेका थिए।
तब उनले विदेशतिर त अझै ठूलो हुन्छ जहाज भनेकी रहेछिन्। ‘ुत्यसो भए तिमी ठूलो जहाज चढेर जान्छौँ है,’ बुवाले भनेको कुरा सुनेर टाउको तलमाथि गरेकी थिइन् उनले। बुवाको मन राखिन्। सन्तानको सफलता देखेर को अभिभावक खुसी नहोलान्! तर यो अवार्ड कार्तिकमा पाएपछि उनले घरमा बुवालाई देखाउन पाइनन्। भन्छिन्,’अवार्ड पाउने खबर बुवालाई सुनाउन त पाएँ तर बुवालाई अवार्ड देखाउन पाइनँ उहाँ बित्नु भइसकेको थियो।’
उर्मिलाका बा आजन्म कमैया बसे। जब बढेसकालका दिनहरूमा काम गर्न सकेनन् अनि उनलाई घर फर्काइदिए। काम गर्न सक्थे भने अझै कमैया पस्नुपर्थ्यो उनको बुवाले।
‘बा कमैया मुक्त हुन पनि पाउनु भएन। बूढो भएपछि काम गर्न नसकेर फर्काइदिएकाे थियो मालिकले,’ उनले बुवाको कुरा गरिन्।
६ देखि १७ वर्षसम्म कमलरी बस्न बाध्य भएकी उर्मिला काठमाडौंका ओसिलो घरको भित्री कोठाहरूमै बिताइन् ११ वर्ष कमलरी भएर। त्यो दासपूर्ण जीवन बाँचेकी उर्मिला २०६३ साल माघ १ गते कमलरीबाट उद्धार भइन् अनि अभियानमा जोडिन्। त्यसयता उनी सीमान्तकृत तथा महिला तथा मानव अधिकार प्रवर्द्वनमा उल्लेखनीय नेतृत्वदायी काम गर्दै आइरहेकी छन्।
‘कमलरीमुक्त घोषणा हुँदैनथ्यो भने पूरै जीवन दासी हुनुपर्थ्यो,’ अनुमान गरिन् उनले। तर जब कमलरी मुक्त भइन् अनि उनी घर फर्किन्। उर्मिलालाई १७ वर्षको उमेरमा उद्दार गरिएको थियो। त्यसयता अभियान र पठनपाठनमा सक्रिय छिन्।
‘किताबका अक्षर पढ्ने र खेल्ने समयमा मेरो उमेरको ११ वर्ष मालिकका जुठा भाँडा र मैला कपडा धुनमा बित्यो,’ उनले भनिनन्।
उद्धार भएपछि काठमाडौँबाट नाइट बसमा चढेर दाङ देउखुरी फर्किदै थिइन, जहाँ उनको जन्मघर थियो। बाआमा थिए। आफ्नो भाषा थियो। कमलरी बसेका दिनहरूमा उनले आफ्नो मातृभाषा पनि बोल्न बिर्सिन पुगेकी थिइन्।
त्यो बिहान ११ वर्षपछि पहिलोपटक उनले जब आफ्नो घरको आँगन टेकिन अनि साह्रै रोइन् । खुसीको रूवाई थियो, त्यो। भन्छिन्, ‘त्यो क्षण मेरो जीवनमा उज्यालो फर्किएको थियो।’
‘घरको दैलोमा टेक्दा म अर्कै दुनियाँमा आएझैँ भएको थियो। अब मैले फुटेको हात देखाउनुपर्दैन। सबेरै उठ्नुपर्दैन। भोकै सुत्नु पर्दैन डराइडराइ हिँड्नुपर्दैन भन्ने भाव मनमा आएको थियो। कसैलाई राजासाब र रानी साहेबा भन्नुपर्दैन। म डराउनुपर्दैन भन्ने लाग्दैथ्यो। यति खुसी भएको थिएँ कि जसको व्याख्या गर्न सक्दिनँ। मेरो शरीरमा पखेटा पलाएको अनुभूति गरेको थिएँ,’ उनले भनिन्।
उनको घरको अगाडि श्री ज्ञान ज्योति प्राथमिक विद्यालय थियो, जसको चौर उनको घरको आँगनसँग जोडिएको थियो। अहिले त्यो स्कुलले तारबार हालेको छ। उनको घर ऐलानी जमिनमा थियो, जहाँ उनी खेल्न पाइनन्। पढ्न पाइनन्।
‘म घरमा पुग्दा गाउँभरिका मुक्त कमलरीहरू मिलेर माघी मनाउँदै थिए र मुक्त कमलरीको आवाज उठाउँदै नाच्दै गाउँदै थिए। घर पुगेकै दिन नारा लगाउँदै कमलरी नराख भन्दै खबरदारी गरेको थिएँ,’ उनले भनिन्।
काठमाडौंको जाउलाखेल र सामाखुसीमा कमलरी बसेकी उर्मिला त्यो दिन सम्झिदा पनि आत्तिन्छिन्। उकुसमुकुस हुन्छ उनलाई। ‘कसरी वित्यो होला ११ वर्ष भन्ने लाग्छ। उनले भनिन्, ‘सानो बच्ची थिएँ, बोली राम्ररी फुटेको थिएन। टाउको दुख्यो भन्न पनि पाइँन्दैनथ्यो। यो काम गर्न सक्दिनँ भन्ने सकिन्थेन। मेरो दाँत पनि कमलरी बस्दैमा टुट्यो।’
उर्मिला खाने कुरा मीठो बनाउँथिन्, ओछ्यान चिटिक्क पार्थिन्, तर अरूको लागि। कुकुरले कम्प्लेक्स खान्थ्यो तर कमलरीले परेवालाई दिने चामल खानु पर्थ्यो। उनी भन्छिन्, ‘थरूनीको उपमा दिने गरिन्थ्यो। साह्रै गाह्रो हुन्छ सम्झिँदा पनि।’
सीमान्तकृत समुदायको लागि आवाज उठाउँदै आएकी पूर्वकमलरी उर्मिलाले पाएको सम्मान पछि व्यक्तिगत जीवनमा पनि थुप्रै भिन्नता आएको बताउँछिन् उनी।
‘जिम्मेवारी बोध गराउँदोरहेछ आफूले समाजकै लागि काम गरेको रहेछु। ती सीमान्तकृतहरूको लागि बोलेको रहेछु भन्ने लाग्यो,’ उनले भनिन्।
नेपालमा त्यसखालको सम्मान उनले पाएकी छैनन्। सायद देशले विस्तारै चिन्ला तर विदेशले चिन्यो। संसारले चिन्यो । सीमान्तकृत महिलाका लागि बोलेको संसारले सुन्यो।
उर्मिलाका अनुसार त्यस्ता धेरै कमलरीहरु जो कहिल्यै मुक्त हुन सकेनन्। जो कहिल्यै घर फर्किएनन्। त्यस्ता धेरै कमलरीहरू अहिले छन्, जसले आफ्नो भाषा मात्रै बिर्सिएन घर बिर्सिए। बाआमाको नाम बिर्सिए। उनी भन्छिन्, ‘त्यस्ता धेरै कमलरीहरू, जसको घाँटी थिचेर, जलाएर या रेप गरेर मारे। जुन घटना कहिल्यै बाहिर आउन सकेन। बाहिर ल्याउन दिएनन्।’
‘कमलरी त मान्छे नै होइनन्। तिनीहरूसँग जेजस्तो व्यवहार गरे पनि हुन्छ। दास हुने। यिनीहरूसँग जे गर्दा पनि हुन्छ। कुमारी आमा बनाएर छोड्दा पनि हुन्छ। रेप गर्दा पनि हुन्छ। मार्दा पनि हुन्छ,’ उनले भनिन्, ‘हामी यस्तो देशमा छौँ जहाँ दलित, सीमान्तकृत र भूमिहिन मान्छेलाई मान्छेको दृष्टिले हेर्न कन्जुसाई गरिन्छ।’
उर्मिलालाई अहिले त्यो यातना आजका कुनै पनि जाति समुदायका बालबालिकाले भोग्न नपरोस् भन्ने छ। त्यस खालको अमानविय व्यवाहार कसैले नगरोस् भन्छिन्।
कमलरी मुक्त त भए तर तिनको जीवनस्तर उकासिएन । दिनप्रतिदिन उनीहरूको अवस्था नाजुक हुँदै गएको छ।
‘हिजोको दिनमा नारा लगाउँदै मुक्त कमलरीहरूको सहयोगका लागि अहोरात्र खनियौँ। अहिले आफूले नै नारा लगाउन आउँछ तर अवस्था नाजुक छ,’ उनले भनिन्,’हामी स्वतन्त्र भयौँ तर आर्थिक रूपमा कसरी सबल हुने र शिक्षामा कसरी पहुँच बढाउने भन्ने छ।’
अहिले उर्मिलाको समूहले पूर्व कमलीहरूको पुनर्स्थापना लागि विभिन्न सरकारसँग सहकार्य गर्दै आइरहेको बताइन्। उनले भनिन्, ‘हामी आफ्नो समूदायलाई परिवर्तन गरिरहेका छौँ भन्ने प्रश्न आउँछ । मुक्त कमलरी विकास मकञ्चले धेरै काम गरेको छ।’
उनका अनुसार मुक्त कमलरी मात्रै हुुनुपर्छ होइन दास प्रथालाई नै हटाउनुपर्छ। ‘कतिपय मुक्त कमलरीहरू अहिले निराशाबाट गुज्रिनुपरेको छ। कतिपय मुक्त त भए तर स्वरोजगारका कारण निराश छन्,’ उनले भनिन्,’उहाँहरू एकदम सक्षम हुनुभएको छ। तर राज्यले सुनेका छैन। देखेको छैन त्यसका लागि पनि हामी वकालत गर्दै आइरहेका छौं,’ उनले भनिन्, ‘मुक्त कमलरीलाई सरकारले सहयोग गरेको थियो। पढाइरहेको थियो। संघीयता आए यता सरकारले मुक्त कमलरीले पाएको सेवा सुविधा काट्यो।
‘कमलरी स्वतन्त्र त भए तर जीवन चलाउन रोगजार छैन। मुक्त घोषणा पछि गृह कार्य भएन। छानो त हालियो तर भित्र केकस्तो अवस्था छ भनेर सरकारले हेरेन,’ उनले भनिन्।
आदीबासी थारूको कोटा त छुट्याइयो तर त्यो कोटा पहुँचवाला थारूहरूले लिइरहेका बताउँछिन् उनी। प्रशस्त पर्ख्यौली सम्पत्ति भएका थारूहरूले नै कमलरी तथा सीमान्तकृत महिलाहरूको अवसर खोसिएको लाग्छ उनलाई। कमलरी मुक्त त बल्ल बल्ल भयो तर अवसर पाइएन। वेचलर पढेका कमलरीले जागिर पाएन।
‘थारूहरू त राजनीति पार्टीको कार्यक्रममा झाँकी निकाल्ने र ताली बजाउने काम मात्रै गरिएको छ। भोट बैंक जस्तो बनाइयो थारूहरूलाई,’ उनले भनिन्।
उनी प्रश्न गर्छिन् कि पालिका र वडाले मुक्त कमैयाका नाममा बजेट भाषण किन हुन सकेको छैनरु उनी भन्छिन्, ‘हरूवा चरूवा, दलित, पीछडा वर्गका र मुक्त कमैयाको नाममा संयुक्त बजेट राखिन्छ। तर मुक्त कमलरी भनेको त भर्खर आएको हो, जसलाई पालिकामा गएर माग्न सक्दैनन्। ‘झोला कसरी बोक्ने र कसको बोक्ने पनि थाहा छैन मुक्त कमलरीलाई त्यसैमा आुको बजेट पनि खेर गएको छ,’ उनले भनिन्।
‘१३ हजार मुक्त कमलरीको गुनासो पनि यही हो कि आर्थिक पाटोमा सुदृढ होस् भन्ने होु उनले भनिन्। अविवाहित आमा बनेका पूर्वमुक्त कमलरीको अवस्था पनि नाजुक छ। कोही पूर्वकमलरी वर्षौ भयो वेपत्ता भएको। थारू समुदायको छानबिन समीति बनेको थियो। त्यो समीतिले खासै काम पनि गरेन।
चौधरीकै नेतृत्वमा मुक्त कमलरी विकास मञ्च गठन भयो। त्यसपछि एक जिल्ला अर्को जिल्ला हुँदै उनीहरूको अभियानले सार्थकता पाउँदै गयो। विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै कमलरी प्रथा विरूद्धको आन्दोलन देशव्यापी बन्दै गयो। उनी नेतृत्वको मञ्चकै अगुवाइमा कमलरी मुक्ति अभियानले गति पायो।
सबैतिरको दबाब स्वरूप २०७० असार १३ मा सरकारले कमलरी मुक्तिको घोषणा गर्योु। त्यसपछि हरेक वर्षको असार १३ गते कमलरी मुक्ति दिवस मनाइँदै आएको छ।
तर हालसम्म सरकारले के कस्तो कार्यन्वयन गर्या्े यो भनेर खोज्ने हो भने शून्य भएको बताउँछिन्।
आफ्नै समुदायलाई हेरेर उनले कानुन पढिन्। १७ वर्षको उमेरमा स्कुल पुगेकी उर्मिला ‘पढे जुन उमेरमा पनि पढ्न सकिँदोरहेछ’ भन्ने उदाहारणीय पात्र पनि हुन्।
बीए एलएलबीको पढाइ सकिएपछि विपन्न परिवारका बालबालिकाकै हकहित र उत्थानका लागि क्रियाशील रहने उनले बताइन्। साथै उर्मिला हरेक महिलाले कानुन बुझ्न जरुरी देख्छिन्। कानुनमै टेकेर बोल्न सकियो भने कसैले हेप्ने र छल्ने गर्दैनन् भन्ने विश्वास छ उनमा।
बौद्धिक कहलिएका, शिक्षक कहलिएका, सरकारी अहोदाको उच्च कर्मचारीले बाल श्रम शोषण गरेको देख्न नपरे हुन्थ्यो भन्ने लाग्छ उनलाई। यदी देखियो भने सरकारकै विरुद्धमा जान मन लाग्ने बताउँछिन्। ‘हामलाई त सरकारकै विरुद्ध मुद्दा हाल्न मन लाग्छ,’ उनले भनिन्, ‘व्यक्तिसँग हाम्रो लडाइँ होइन यो सिस्टिमसँँग हो।’