माघ १२ धनगढी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्याउने संघ संस्था एवं व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरे ।
सो अवसरमा मन्त्री पाण्डेले पर्यटकको सुरक्षाका साथसाथै पर्यटकको समस्या एवम् गुनासो सम्बोधनमा पर्यटक प्रहरीले उत्कृष्ट व्यवहारका साथ निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य उत्तम रहेको उल्लेख गरे।
पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उनले बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले आ-आफ्नो शुभकामना मन्तव्य
व्यक्त गरेका थिए ।
पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी संक्षिप्त जानकारी दिएका थिए ।