माघ १४ धनगढी
जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ । बोगटान फुड्सिल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा चवराचौतारामा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
बोगटान फुड्सिल आँखा उपचार केन्द्रको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । संविधानले व्यवस्था गरेअनुरूप नागरिकले गाउँपालिकामै आँखा उपचार पाउनुपर्ने हेतुले च्यारिटी हेल्थ फाउन्डेसनको सहयोगमा उपचार केन्द्रको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उपचार केन्द्रको स्थापनापछि यहाँका बासिन्दाहरूको आँखामा देखिएको सामान्य समस्यामा पनि बाहिर जानुपर्ने बाध्यता हट्ने उनले बताए ।
यहाँका नागरिकलाई गाउँमै समयमै आँखाको उपचार सुविधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको च्यारिटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक अनिल न्यौपानेले बताए । उपचार केन्द्रमा दैनिक आँखाको सामान्य चेकजाँच, चस्मा र औषधी वितरण जस्ता कार्य हुने उनले बताए ।
गाउँपालिकामा मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको सङ्ख्या एक सय पुगेमा शिविरको व्यवस्था गरिने र २/३ जना बिरामी भएमा आँखा उपचार केन्द्रको सिफारिसमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए । आँखा उपचार केन्द्रमा कार्यालय सहयोगी सहित ३ जना कर्मचारी रहेका छन् ।