माघ १८ धनगढी
यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ । देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण कहिले धेरै पानी पर्ने त कहिले पर्दै नपर्ने भइरहेको विज्ञहरूले बताइरहेका छन् । जसका कारण वातावरणसँगै समग्र पारिस्थितिक प्रणालीमै असर पाने सक्ने उनीहरूले बताउन थालेका छन् ।
देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने ३० वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ । त्यसकै आधारमा पछिल्ला झन्डै दुई दशकका नेपालमा धेरैजसो हिउँद महिना सुक्खा हुन थालेको छ ।
यस वर्षको हिउँद अवधिमा हालसम्म तीन २० वटा केन्द्रको औसत हेर्दा हिउँदमा हुनुपर्ने कुल वर्षाको ९.२ प्रतिशत मात्र भएको छ । जुन सरदर वर्षाभन्दा निकै कम हो । गत वर्ष हिउँदमा धेरैजसो स्थानहरूमा सरदरभन्दा कम वर्षा भएको मापन गरिएको थियो । यस वर्षको हिउँदमा पनि अहिलेसम्म पर्याप्त पानी पर्न सकेको छैन ।
जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको हावापानी विज्ञान महाशाखाको सन् २०१५ को रिपोर्टअनुसार वार्षिक रूपमा सरदर १८ सय मिलिमिटर पानी पर्नुपर्ने हुन्छ ।यसमध्ये जाडो मौसममा मात्रै २ सय मिलिमिटर वर्षा हुनुपर्छ । तर यो वर्षको हिउँदमा सरदर २० मिमि मात्रै वर्षा भएको छ । यो भनेको करिब १० प्रतिशत हराहारीमा हो ।
ठाउँअनुसार वर्षा फरक–फरक हुने भएकाले यसलाई देशभरको वर्षा भन्न सक्ने अवस्था देखिँदैन । नेपाल कृषि अनुसन्धान परिषद्अन्र्तगत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालका अनुसार वर्षा मापन स्टेसनअनुसार फरक–फरक आउँछ । ‘सबै ठाउँमा एकैनासको पानी पर्दैन,’ उनले भने, ‘यो हिउँदमा पश्चिममा केही वर्षा भएको छ, तर पूर्वी भागमा वर्षा भएको छैन ।’
नेपालका अधिकांश कृषि क्षेत्र आकाशेपानीमै निर्भर भएकाले पर्याप्त हिउँदे वर्षा अति नै आवश्यक छ । तर पानी नै नपर्दा सबैभन्दा ठूलो मार कृषकलाई परेको छ । जसका कारण कृषि उत्पादनमा पूर्णतया असर परेको छ ।
अहिले किसानका खेतबारीमा गहुँ, तोरी र तरकारीजन्य बालीहरू छन् । यस्तोमा चाहिँदो मात्रामा वर्षा नहुँदा उत्पादनमा निकै ठूलो असर पर्छ भने अर्कातिर वायु प्रदूषण र डढेलोजस्ता समस्याहरू पनि बढ्ने गर्छन् । साथै विद्युत् उत्पादनमा पनि कमी आउँछ ।
पानी नहुँदा खेती–चक्र नै बिथोलिने, जमिनमा पानीको सतह घट्दै जाने, वन्यजन्तु अन्यत्र सर्नेलगायत जैविक विविधतामै प्रभाव पर्ने कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल बताउँछन् । ‘हाम्रो खेती मौसममा भर पर्नुपर्ने खालको छ, पर्याप्त वर्षा नहुँदा बाली–चक्रमा असर पर्छ,’ उनले भने ।
पानीको अभावका कारण बालीनालीमा रोगकीराको प्रकोप बढ्नाले उत्पादनमै असर पार्ने डा. पौडेल बताउँछन् । ‘पहिला बेला–बेलामा पानी पथ्र्यो तर, अहिले परेको छैन,’ उनले भने, ‘तराईमा इनार र पम्प सुक्ने, खोलाहरू सुक्ने समस्या देखिएको छ । पानीको भण्डारण प्रभावित भएका छन् । यसले समग्र सिँचाइ प्रभावित हुन्छ ।’
नेपालमा भौगोलिक अवस्थाअनुसार फरक–फरक बाली लगाउने गरिन्छ । यतिबेला पहाडी क्षेत्रमा उवा, जौ, तोरीलगायत बाली छन् भने तराईमा गहुँ, तोरी, मुसुरोजस्ता बाली छन् । कृषि मौसमका जानकार रिमालले सिँचित क्षेत्रका बालीमा पानीको उपलब्ध भए पनि असिँचित क्षेत्रका यी बालीमा असर परेको बताए । ‘गहुँमा अब दोस्रो पटक मल राख्ने समय भएको छ,’ उनले भने, ‘चिस्यान कायम गरेर मात्रै मल राख्नुपर्ने छ ।’
यस्तै त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्राडा प्रेमसागर चापागाईंको अनुसन्धानले पनि यस्तै देखाएको छ । उनको नेतृत्वमा ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकको नेपालकेन्द्रित अनुसन्धानले सुक्खा खडेरीले हिमाली क्षेत्रमा पाक्नुअघि नै बाली सुक्न थालेको निष्कर्ष निकालेको छ ।
‘विगतमा गाईबस्तुका मल प्रयोग गर्दा माटोमा आद्र्रता कायम हुन्थ्यो । तर, गाईबस्तुको संख्यामा कमी आउँदा किसानहरूले रासायनिक मल प्रयोग गर्न थालेका छन्,’ अनुसन्धानमा उल्लेख छ । जसले माटोको आद्र्रता कायम रहन नसकेको चपागाईं बताउँछन् ।
यता, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत कृषि वातावरण अनुसन्धान केन्द्रले हिउँदमा सरदरभन्दा कम वर्षा भएकाले सिँचाइको वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरेको छ । केन्द्रले सबै किसिमका बाली, फलफूलमा निरन्तर चिस्यान अनुगमन गरी सिँचाइ व्यवस्थापन गर्न भनेको हो ।
‘तराई र पहाडी क्षेत्रमा हिउँदे वर्षा घट्दै गएकाले प्राकृतिक मुहान र ढुंगेधारामा पानी छैन, मुहान पनि सुक्दै गएका छन्,’ उनले भने, ‘जसका कारण सिँचाइका लागि पानी अभाव हुन थालेको हो ।’
जलवायु परिवर्तनका कारण नेपालका ६० प्रतिशत परिवारको प्रमुख तथा नगदे बालीमा गम्भीर प्रभाव परेको चपागाईं बताउँछन् । ‘प्रत्येक परिवारको वार्षिक औसत बालीको क्षति हिमाली क्षेत्रमा लगभग ६ सय अमेरिकी डलर, पहाडमा २२ सय ५० डलर र तराई क्षेत्रमा २१ सय अमेरिकी डलर बराबर छ,’ उनले भने ।
यता, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत कृषि वातावरण अनुसन्धान केन्द्रले हिउँदमा सरदरभन्दा कम वर्षा भएकाले सिँचाइको वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरेको छ । केन्द्रले सबै किसिमका बाली, फलफूलमा निरन्तर चिस्यान अनुगमन गरी सिँचाइ व्यवस्थापन गर्न भनेको हो ।
प्राङ्गारिक मल प्रयोग गरिँदा लामो समयसम्म चिस्यान हुने भएकाले यस प्रकारको खेती गर्न कृषिविज्ञले सुझाएका छन् । ‘बाली–चक्रमा तापक्रम थेक्न सक्ने खेतीबाली हुनुपर्छ,’ उनले भने, ‘संवेदनशील भएर पानी संरक्षणतर्फ लाग्न जरुरी छ ।’
पानी संरक्षण गर्न के गर्ने ?
तत्कालका लागि प्रयोग गरिएको पानी प्लास्टिक पोखरीमा भण्डारण गर्नुपर्ने देखिन्छ । यसको सदुपयोग गर्नुपर्छ । तर दीर्घकालका लागि माटो सुधार गर्नुपर्ने डा. पौडेल तर्क गर्छन् । ‘दीर्घाकालीन रूपमा हुनेगरी काम गर्नुपर्यो, जसका लागि प्राङ्गारिक पदार्थ रहेको माटो बनाउनुपर्छ,’ उनले भने, ‘प्राङ्गारिक पदार्थ प्रयोगले माटोमा ‘स्पन्ज’ बन्छ र पानीको आद्रता रहन्छ ।’
माटोमा बढेको सुक्खापन रोक्न र यसलाई सुधार गर्न खेतबारीबाट निस्कने बाली बिरुवाका ठुटा, पातपतिङ्गरमा आगो नलगाई कम्पोष्ट मल बनाउनुपर्ने हुन्छ, यसले माटो सुधार गरी माटोमा आद्रता कायम राख्न मद्दत गर्छ । साथै बिरुवालाई खाद्यतत्व प्रदान गर्ने वन तथा भू–संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठक बताउँछिन् ।
नेपालमा पछिल्लो समय पानी नपर्ने परे पनि एकदमै धेरै पर्नेजस्ता समस्या बढ्दै गएकाले वातावरणीय सन्तुलन मिलाउन एकदमै आवश्यक परिसकेको विज्ञहरूले बताउँदै आएका छन् ।