फागुन १८ धनगढी
कैलालीको गोदावरी नगरपालिका– २ ले ७ महिनाको अवधिमा ६४ लाख बढी राजश्व सङ्कलन गरेको छ । वडाले चालु आर्थिक वर्षको साउन महिनादेखि माघ मसान्तसम्म ६४ लाख ४७ हजार १४९ रुपैयाँ राजश्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षका ७ महिनामध्ये उक्त वडाले भदौ महिनामा सबै भन्दा बढी राजश्व सङ्कलन गरेको छ । उक्त महिनामा वडाले २१ लाख ४२ हजार ८०४ रुपैयाँ राजश्व सङ्कलन गरेको वडा सचिव दिव्या कुमारी जोशीले बताइन् ।
उनले त्यसपश्चात् वडाले साउन महिनामा बढी राजश्व सङ्कलन गरेको बताइन् । जोशीका अनुसार वडा कार्यालयले साउन महिनामा ९ लाख ८३ हजार २५२ रुपैयाँ सङ्कलन गरेको छ । यस्तै वडा कार्यालयले माघ महिनामा ८ लाख ७४ हजार ६४५, असोज महिनामा ६ लाख २२ हजार ९६९, कार्तिक महिनामा ५ लाख ८१ हजार ८५८, मंसिर महिनामा ३ लाख ९६ हजार १३० र पुस महिनामा २ लाख ५३ हजार ७२० रुपैयाँ राजश्व सङ्कलन गरेको जोशीले बताइन् ।
वडा कार्यालयले सबै भन्दा बढी व्यवसाय कर शीर्षकमा राजश्व सङ्कलन गरेको छ । जसमा माघ मसान्त सम्म वडाले ३० लाख ९५ हजार ३५२ रुपैयाँ राजश्व सङ्कलन गरेको हो । वडा कार्यालयले उक्त शीर्षकमा गत आर्थिक वर्षभरमै २४ लाख ५० हजार ३०० रुपैयाँ राजश्व सङ्कलन गरेकोमा चालु आर्थिक वर्षको ७ महिनामै गत वर्षको भन्दा ६ लाख ४५ हजार ५२ रुपैयाँ बढी सङ्कलन गरेको छ । त्यसपछि वडाले बहाल कर शीर्षकमा बढी राजश्व उठाएको छ ।
उक्त शीर्षकमा पछिल्लो ७ महिनामा वडाले २२ लाख १७ हजार १५५ रुपैयाँ सङ्कलन गरेको वडा सचिव जोशीले बताइन् । उनका अनुसार वडाले सम्पत्ति कर शीर्षकमा ३ लाख २२ हजार ३७२, भूमिकर/मालपोत शीर्षकमा २ लाख ५१ हजार ६५९, सिफारिस दस्तुर शीर्षकमा ३ लाख ५१ हजार ६१९ र नाता प्रमाणित दस्तुर शीर्षकमा १७ हजार १० रुपैयाँ सङ्कलन गरेको छ । यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर शीर्षकमा २७ हजार ६००, विद्युत् सेवा शुल्क शीर्षकमा २१० रुपैयाँ र अन्य दस्तुरमा १ लाख ६४ हजार १७० रुपैयाँ राजश्व सङ्कलन गरेको जोशीले बताइन् ।
वडा सचिव जोशीले चालु आर्थिक वर्षमा व्यवसाय दर्ता तथा नवीकरणमा बढी राजश्व सङ्कलन भएको बताइन । उनले चालु आर्थिक वर्ष सकिन अझै ५ महिना बाँकी रहेकाले अझै राजश्व उठ्ने बताइन । वडा सचिव जोशीले वहालकर लगायतका मुख्य करहरू उठ्न अझै बाँकी रहेकाले चालु आर्थिक वर्षको असार मसान्तसम्म अनुमानित १ करोड २० लाख बराबर राजश्व सङ्कलन गर्ने अनुमान रहेको बताइन । गत वर्ष वडा कार्यालयले १ करोड ६ लाख ७० हजार ४५३ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । बजार क्षेत्र भएको वडा भएकाले पनि राजश्व सङ्कलन बढी हुने गरेको जोशीको भनाई छ । उनले बजार क्षेत्र भएकाले व्यापार व्यवसायबाट र वहालबाट बढी राजश्व सङ्कलन हुने बताइन ।