फागुन १९ धनगढी
कृष्णपुर नगरपालिका–४ का वडा अध्यक्ष धर्म सिंहले युवाहरूलाई स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएका छन्। अहिलेसम्म उनले वडाका १ सय ५० भन्दा बढी युवालाई विभिन्न तालिम दिइसकेका छन्।
अध्यक्ष सिंहका अनुसार यस वर्ष ३० जनालाई सवारी चालक तालिम दिइएको छ। त्यसैगरी, ३ महिने कपाल काट्ने तालिम, आधारभूत कम्प्युटर तालिम र कारपेन्टर तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ।
‘विगतमा पनि सिलाईकटाईलगायतका तालिम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने कतिपय अन्यसँग मिलेर रोजगारी गरिरहेका छन्।’
व्यवसायिक योजनासहित अघि बढ्ने युवालाई वडा कार्यालयले सहयोग गर्ने उनी बताउँछन्। ‘व्यावसायिक योजना लिएर आउने युवालाई आवश्यक तालिम र उपकरणसमेत सहयोग गर्ने योजना छ,’ उनले भने ‘विगत वर्षमा सिलाईकटाई मेसिनलगायतका उपकरण पनि सहयोग गरेका थियाैं।’
वडा कार्यालयले युवाहरूलाई ग्वासीसमैजी गौशालासँग जाेडेर राेजगारी दिइरहेको छ। वडा नम्बर ४ स्थित बिन्द्रावन सामुदायिक वनमा रहेको उक्त गौशालामा १२ जना युवालाई रोजगारी दिइएको छ। यहाँ जैविक मलसमेत उत्पादन हुँदै आएको छ।
‘वडाभित्रका कृषकलाई प्रांगारिक मल प्रयोग गर्न आग्रह गरेका छौं,’ अध्यक्ष सिंहले भने, ‘किसानहरूले परालसँग मल साटेर लैजान सक्ने व्यवस्था मिलाइएको छ।’ कृष्णपुर नगरपालिका भर यहाँको प्रांगारिक मल खपत हुने गरेको छ। गौशालामा हाल ७ सयभन्दा बढी छाडा चौपायाको व्यवस्थापन गरिएको छ।
