फागुन २१ धनगढी
सवारी चालक अनुमति पत्र छाप्न सबै प्रदेश सरकार तयार भएका छन्। यातायात व्यवस्था विभागले हालसम्म छाप्न बाँकी सवारी चालक अनुमतिपत्र छाप्ने र आगामी वैशाख १ देखि साउन १ सम्म सबै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाइ गर्ने गरी निर्णय भएको हो।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो। सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राइड सेयरिङलाई व्यवस्थित गर्न र प्रदेशहरूबीच नीतिगत समन्वय गरी एकरुपता गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागू गर्ने निर्णय गरेको हो।
यसैगरी यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मसान्तभित्र सबै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने निर्णय भएको छ। प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र–‘ईडीएल’ मा यो लागू हुने र क्रमशस् भुक्तानीका सवै क्षेत्रमा लागू गर्ने निर्णय भएको हो ।
विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको हो। बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समीक्षा हुने जनाइएको छ। सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिबद्धता जनाए।
