थिएटरमा महिलाको उपस्थिति अझै न्यून

राज सरगम
फागुन २४ धनगढी
तीन दशकअघिसम्म पनि महिला कलाकार खोज्न शिला खोज्नपर्थ्याे। महिलाको भूमिका निर्वाहका लागि पुरुषले पहिरन र आवाज नै बदल्नुपर्थ्याे। तर अचेल महिला कलाकार बन्न पुरुष चाहिँदैन। किनकि महिलाहरू अब नाटक खेल्न डराउँदैनन्। लज्जाउँदैनन्। त्यसैले चलचित्र र रंगमञ्चमा अभिनयका लागि महिलाको उपस्थिति छ। तर जति छ त्यो के प्रयाप्त छ?

‘छैन,’ रंगकर्मी तथा कलाकार पशुपति राईले भनिन्, ‘एक दुई जनालाई हेरेर महिलाहरूको उपस्थिति रंगमञ्चमा उल्लेखनीय छ भन्न मिल्दैन।’

उपत्यकाको हरेक कुनामा नाटकघर छ र पनि महिला कलाकारको अनुहार उही हुन्छ। त्यसो हुनु भनेको महिला पात्रको उपस्थिति सोचेजस्तो नहुनु हो। तर अभिनेत्री राई दुःखी भइहाल्नुपर्ने अवस्था पनि देख्दिनन्। उनी निकै आशावादी छन्। भन्छिन्, ‘महिला कलाकारहरू आइरहेका छन् तर ती निश्चित उमेर समूहका छन्। तिनले के कति निरन्तरता दिन सक्लान् भन्ने चिन्ता हो।’रंगमञ्चमा सबै उमेर समूहका महिलाहरूको उपस्थिति अझै खट्किएको बताउँछिन् अभिनेत्री राई।

अभिनेत्री राईको कुरामा सकारात्मक देखिइन् कौशी थिएटरकी सञ्चालक तथा कलाकार निर्देशक आकांक्षा कार्की। उनले भनिन्, ‘मेरो अवलोकनमा के लाग्छ भने किशाेर र युवा महिलाहरूको उपस्थिति आशलाग्दो छ तर विवाहपश्चात अत्यन्तै न्यून छ।’

कुनै पनि क्षेत्रमा लागेका दिदीबहिनीलाई विवाहपश्चात काम गर्न गाह्रो छ नै तर कला क्षेत्रमा लाग्न भयानक चुनौती देख्छिन् कार्की। उनको अनुसार व्यवहारिक जीवनमा परेपछि सोचजस्तो हुँदोरहेछ। उनी भन्छिन्, ‘मेरै लाइफलाई मैले नै झाँकेर हेर्दा धेरैथोक गर्न सक्थेँ तर विवाहपश्चात सकिनँ। मेरो पारिवारिक पृष्ठभूमि बलियो र मलाई बुझ्नेहरू थिए र पनि मैले सोचेजति काम गर्न सकिनँ। अब जो दिदीबहिनीहरूको अवस्था नाजुक छ र उनीहरू थिएटरलाई निरन्तरता दिन गाह्रो भइरहेको छ।’
कलाकार कार्कीका अनुसार अहिले पनि दिदीबहिनीहरू कलामा लाग्न डराउँछन्। र डराइडराइ गरेको कलालाई निरन्तरता दिन गाह्रो हुने उनको बुझाइ छ।

‘विवाहपछि पहिला कलालाई निरन्तरता घर परिवार र श्रीमान्‌को अनुमति माग्नु पर्‍यो। यदि श्रीमान् बुझ्ने छन् भने त ठीकै छ तर बुझेनन् भने कला क्षेत्रलाई माया मार्नु पर्ने अवस्था पनि हुन्छ,’ उनले भनिन्,’पहिला त कलामा लाग्नु नै हुँदैन भन्ने हुन्छ। गम्भीरतापूर्वक लिइदिएनन् भने थप निराशाबाट गुज्रिनुपर्ने हुन्छ। महिलाको काम त बच्चा हुर्काउने हो रे, घर धान्ने हो होरे भन्ने हुन्छ। एकाध परिवारबाहेक अरुले कलामा फर्किन नसकेको थुप्रै पात्र भेट्न सकिन्छ।’महिलाहरूलाई कुनै पनि क्षेत्रमा अगाडि बढाउन पुरुषकै हात चाहिन्छ भन्ने कथन प्रशस्त सुन्नमा पाइन्छ। र अभिनेत्री कार्की यो कुरामा सहमत जनाउँदै भन्छिन्, ‘ए तिमी राम्री छौ कलाकारितामा लाग न, भनेर भन्दिनु पर्ने अवस्था छ। यस्तो अवस्थामा पूर्ण स्वतन्त्र हुने कसरी भन्ने अर्को विषय हुन सक्छ।’

दिदीबहिनीहरू पुरुषको साथ र सहयोग नपाएसम्म अगाडि बढ्दैनन् भन्ने कुरामा कलाकार राई फरक मत सुनाउँछिन्, ‘जे जस्तो क्षेत्रमा लाग्न पहिला आमाको साथ चाहिन्छ। आमा पनि महिला हो र कलामा लाग्न पनि उहाँको साथ सहयोगबिना सकिन्न। त्यसैले सबैको बराबरी साथ र सहयोग भयो भने महिलाहरू कलाकारितामा विवाहपश्चात पनि निरन्तरता दिन सक्छन्।’ कार्कीका अनुसार समाजमा आज पनि तहतहमा विभेद छ। नदेखिने भेदभावहरू अत्यन्तै बढी छ तर मान्छेहरू खाली शिक्षा, स्वास्थ्य र जेन्डर तथा छाउपडीलाई लिएर मात्र बोलिरहेका छन्। स-सानो विभेदलाई कोट्याउन पनि नारी दिवस जस्ता दिनले पहल गर्छ। दबिएकाे आवाज बाहिर ल्याउन झक्झकाउँछ। महोल बनाउँछ जस्तो लाग्छ।’

लेखन निर्देशनमा
अभिनय मात्रै गरेर रंगमञ्चमा टिकिराख्न गाह्रो छ। काम गर्दै जाँदा लेखन र निर्देशनमा धेरै रंगकर्मीहरूले हात हालेका छन् तर महिला रंगकर्मीहरूको उपस्थिति त्यहाँ पनि न्यून नै छ। मण्डला थिएटरमा हालै मञ्चन भइरहेको नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ निर्देशन अभिनेत्री राईले नै गरेकी हुन्। अभिनेता रंगकर्मी विजय निर्माता रहेको यो नाटकलाई निर्देशन गरेकी राई भन्छिन्, ‘अहिले थिएटरमा महिला निर्देशकहरू आएका छन् तर तिनले कति निरन्तरता पाउन सकेको छन् भन्ने विषय अर्को हो।’

किन निरन्तरता दिन सकिरहेका छैनन्?

‘महिला निर्देशकमाथि निर्माताले अझै विश्वास गर्न डराउँछन्,’ राईले भनिन्,’चलचित्रमा त निर्माताहरू महिला निर्देशक छान्नै डराउँछन्। किनकि ठूलो बजेट भएका कारण होला। सेफ ल्याण्ड हुन खोजेर होला। र रंगमञ्चमा पनि हामी मुस्किलले निर्देशन गर्न पाइरहेका छौँ। थिएटरमै लागेका साथीहरूले पत्याइदिएका कारण यो अवसर जुर्न सकेको हो।’

राईको कुरामा केही सकारात्मक देखिँदै कलाकार अभिनेत्री उषा रजक महिलाहरू लेखन निर्देशनमा पनि आउन थालेको बताँउछिन्। उनी भन्छिन्, ‘अहिले थिएटरसँगै चलचित्र निर्देशनमा पनि महिलाहरू देखिन थालेका छन्। जस्तै, निर्देशनमा शान्ता नेपाली, कृषा चौलागाईं, झरना थापा, रेखा थापालगायत छन्। लेखनमा सम्पदा मल्लहरू आइरहेका छन्।’

अभिनेत्री रजक लेखन निर्देशनबाहेक मेकिङमा पनि महिलाहरूको उपस्थिति देख्न चाहेको बताउँछिन्। उनी भन्छिन्, ‘अहिले पनि नेपाली कलामा महिला निर्माताहरू औँलाले गन्न सकिने एक–दुई होलान्। यो पर्याप्त होइन। लेखन, निर्देशन र निर्माणमा महिलाहरू आउन नसक्नु भनेको महिलाहरु स्वतन्त्र हुन नसकेको हो। अथवा तिनका हातमा पूरा अधिकार नभएर हो।’। निर्देशन होस् कि निर्माण, घरपरिवारले बुझिदिएमा महिलाले पनि काम गर्न सक्ने तर्क गर्छिन् कलाकार कार्की। जुन क्षेत्रमा पनि पुरुषलाई सहज छ तर कला क्षेत्रमा महिलासँगै पुरुषलाई पनि गाह्रो छ। किनकि यहाँ लगानी गर्न हत्तपत्त नचाहेको कार्कीको अनुभव छ।

भन्छ्नि्, ‘म काठमाडौँमा हुर्किएँ। पढेँ। अनि जो देखेँ पनि सानोमा लाग्थ्यो, किन कोही बोल्दैनन् तर अहिले बोल्दारहेछन् भन्ने लाग्दै छ। तर को बोलिरहेका छन् भन्ने चाहिँ छुट्याउन सक्ने भएँ। जोसँग शक्ति छ, शिक्षा छ, पहुँच छ, तिनै बोलिरहेका छन्। जो शक्तिशाली छ उही मात्रै बोलेर हुँदैन। तिनले पनि बोल्न पाउनुपर्छ जो कमजोर छन्। तिनको आवाज पनि सुनिनुपर्छ।’

महिला पात्र कति प्रमुख

महिलालाई मुख्य पात्र बनाएर थुप्रै चलचित्र नआएका होइनन्। रंगमञ्चमा पनि महिला पात्र प्रमुख बनाएर नाटक मञ्चन भएका थुप्रै उदाहारण छन्। तर पछिल्लो एक दशक कथामा महिला पात्र प्रमुख नभेटिएको बताउँछिन् अभिनेत्री राई।

बुशान र भेनिसजस्ता अन्तर्राष्ट्रिय ठूला चलचित्र महोत्सवहरूमा ‘गाउँ आएको बाटो’ चलचित्रका लागि सहभागिता जनाएकी राई पछिल्ला चलचित्र र नाटकहरूमा महिला पात्र प्रमुख भएको कमै रहेको देख्छिन्।

उनी भन्छिन्, ‘अहिले महिला पात्र प्रमुख बनाएर कथा भन्न फेरि कम भएको छ। पहिला पनि उल्लेख्य मात्रामा भएको त होइन तर अहिले कम हुन थालेको छ। किनकि स्टारमुखी भए मेकरहरू। अहिले त रंगमञ्चमा पनि व्यवसायिक सफलता खोज्ने भएकाले रंगमञ्चमा महिलाको कथा सामूहिक भन्न थालियो। मेकर नाफामुखी हुन थालेपछि बजार हेरिन्छ र बजारमा अहिले पनि अभिनेता नै खोजिन्छ।’तर महिला पात्र नाटक र चलचित्रमा मुख्य देखिए पनि त्यसले निरन्तरता नपाएको बताउँछिन् अभिनेत्री रजक। ‘फाट्टफुट्ट महिला निर्देशक देखिएका छन् तर वर्षेनी महिला फिल्म मेकर तथा निर्देशक आउन नसकेको चाहिँ हो,’ उनले भनिन्।

त्यस्तो किन हुन्छ त भन्ने जिज्ञासामा रजक भन्छिन्,’चलचित्र होस् या थिएटर कथा न्यारेटर महिला पात्र बनाएर लगानी गर्नेहरू एकाध छन् जो औँलामा गन्न सकिन्छ।’

११५ औँ नारी दिवस
जनचेतनाको प्रभावकारी माध्यम हो कला। कलामार्फत् नै सामाजिक सचेतनाको अभियान चल्दै आएको नकार्न सकिँदैन। र नेपालमा वर्षेनी आउने नारी दिवस (आठ मार्च) यसपाली अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छन्। तर कलाकारका लागि यो नारी दिवसमा के विशेष हुन्छ? एकअर्काको कामको मूल्याङ्कनको सम्मान गर्ने अवसरको रूपमा नारी दिवस सफल भएको लाग्छ,’ अभिनेत्री राईले भनिन्, ‘अधिकारकर्मीदेखि राज्यले समेत यस्ता अवसरमा हौसला र उत्साहित गराउने काम गरेको छ तर समग्र महिलाहरूको परिवर्तनमा खासै अन्तर आएको छैन।’

त्यसैगरी कलाकार कार्की महिलाको विषयमा विचारविमर्श भइरहनु पर्ने बताउँछिन्। कार्की आठ मार्चलाई अवसरका रूपमा लिन्छिन्।

अघिपछि महिलाको सवालमा बोल्न सुस्ताएकालाई झकझकाउन उत्प्रेरित गर्न मौकाको रूपमा लिन्छिन्। उनी भन्छिन्, ‘हरेक दिन आठ मार्च हो भनेर किल्स प्रश्न दिन चाहँदिनँ। यो रिमाइन्डिङ हो। सम्झाउने पाटो हो। हामी को हुँ। किन हामी बोल्नु पर्छ। किन हामी यसमा काम गरिरहनुपर्छ भन्न पनि सचेत गराउँछ यो दिनले। बिर्सिन खोज्नेहरुलाई सचेत गराउँछ।’
नारी दिवस आफैमा प्रश्न हो। बिर्सिन खोज्नेहरूलाई सचेत गर्ने बताउने कार्कीले भनिन्, ‘हिंसा नरोकिएसम्म यो दिन सेलेब्रेट भएको राम्रो हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply