महिला हिंसाको अन्त्य गरौँ

फागुन २६ धनगढी
फागुन २४ गते शनिवार ११५औ अन्तर्राष्ट्रिय/राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइयो । प्रत्येक वर्ष महिलाहरूले दिवसलाई विभिन्न किसिमले मनाउने गरे पनि महिला हिंसाका घटना घट्नुको साटो दिनानुदिन बढ्दै गइरहेका छन् । प्रहरीको तथ्याङ्क हेर्नेको भने विगत ३ वर्ष यता महिला माथि हुने हिंसाका घटनाहरू बढिरहेका देखिन्छन् ।

नेपाल प्रहरी अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको विगत ३ वर्षको तथ्याङ्क हेर्दा जबरजस्ती करणी शीर्षकमा मात्रै देशभर २ हजार बढी मुद्दाहरू दर्ता भएका छन् । सो शीर्षकमा आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३८० मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७९/०८० मा बढेर २ हजार ३८७ मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । त्यसमा पनि गत आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ५०७ वटा मुद्धाहरु सो शीर्षकमा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

यसरी हेर्दा विगत ३ वर्षको तथ्याङ्कले सो शीर्षकमा मात्रै पनि लगातार मुद्धाहरु बढेको देखिन्छ । त्यस्ता कयौँ शीर्षकमा महिला हिंसा सम्बन्धीका मुद्धाहरु दर्ता हुने गरेका छन् । त्यस्ता मुद्धाहरु बर्सेनि बढ्दै गइरहँदा महिलाहरू असुरक्षित भएको अनुमान गर्न सकिन्छ । संविधानले सबैलाई समान किसिमको हक अधिकार दिएको छ । कसैप्रति हिंसात्मक प्रवृत्ति अपनाउने छुट कसैलाई पनि छैन । यसरी हिंसा गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरिनुपर्दछ । महिलाहरूलाई समाजमा सुरक्षित महसुस गराउन देशभर महिला हिंसाका घटनाहरूमा न्यूनीकरण ल्याउने, महिला तथा पुरुषबिचको असमानता हटाई समानताको मार्ग खुलाउने लगायतका क्रियाकलापहरू गर्न आवश्यक देखिन्छ ।

नेपालमा विगतको तुलनामा विभिन्न कार्यहरूमा महिलाहरूको सहभागिता बढी छ, विभिन्न विद्या तथा फाँटहरूमा महिलाहरूले सफल रूपमा नेतृत्व गरिरहेका छन् । उनीहरू परिवर्तनका संवाहक बनेका छन् । तर त्यति भएर पनि महिला हिंसा सम्बन्धीका घटनाहरूमा भने कमी आउन सकेको छैन । कानुनी प्रबन्धहरूले मात्रै महिला हिंसाको अन्त्य गर्न सकिने कुरा सम्भव छैन । व्यक्तिको अन्तर चेतनामा विवेक र करुणा पैदा भयो भने मात्रै त्यो सम्भव छ ।
अझै पनि महिलाहरूमाथि छुवाछुत, बेचबिखन, श्रम शोषण, बोक्सी, यौनजन्य दुर्व्यवहार, बलात्कार, हत्या, एसिड आक्रमण लगायतका अपराधजन्य गतिविधिहरू हुने गरेका छन् । सामाजिक अन्धविश्वासको आड लिएर हुने यस्ता अनैतिक गतिविधिहरूको अन्यका लागी राज्यबाटै सार्थक अभियान चालिनुपर्दछ । महिला हिंसाको अन्त्यका लागी मुख्य रूपमा व्यक्तिलाई सचेत बनाउन आवश्यक छ ।

त्यसका लागी मनोवैज्ञानिक परामर्श, कानुनी ज्ञान, कुरीतिहरूको असर र त्यसले निम्त्याउने खतरा लगायतका विषयमा नागरिकलाई जानकारी गराउन आवश्यक छ । महिला हिंसाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरूमा पनि नराम्रो असर पर्ने गरेको छ । महिलाहरूलाई सम्मान गर्न सके समाज र देश स्वतः समृद्ध बन्न सक्छ । त्यस्तो वातावरण सृजना गर्ने कुरामा सबैले एकबद्ध बन लाग्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply