फागुन २७ धनगढी
कैलालीको धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन सुरु भएको छ । पछिल्लो समय पार्टीभित्रको गुटबन्दीले समस्यामा परिरहेको कांग्रेसले सम्मेलनबाट एकताको सन्देश दिने प्रयास गरेको छ । जसका लागि सम्मेलनमा पार्टीका सबै शीर्ष नेतालाई एउटै मञ्चमा राख्ने प्रयास गरिएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट पार्टी एकताको सन्देश दिन मात्रै आग्रह गरेनन् एक ढिक्का भए कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरे ।
‘अहिले समानुपातिक प्रतिनिधित्वको आधारमा संविधान छ । राष्ट्र नै समानुपातिक पद्धतिमा चलेको छ । यस कारण कुनै पनि पार्टीले प्रत्यक्ष बहुमत प्राप्त गर्न धेरै सजिलो छैन । त्यस कारण कुनै न कुनै पार्टी सँग गठबन्धन गर्नुपर्ने हुन्छ’ उनले भने ‘हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी भएता पनि बहुमत हामी सँग छैन । भोलि पनि हुने सम्भावना कम छ । तर, हाम्रो पार्टी एक भएर लाग्या खण्डमा सच्चा मानेमा एक हुन सक्या खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ ।’
उनले दोह-याए कांग्रेसलाई बहुमतको पार्टी बनाउन सुदूरपश्चिमबाट कांग्रेस एक ढिक्का भएको सन्देश दिनुपर्ने बताए पनि पार्टीका नेता शेखर कोइराला भने सहभागी थिएनन् । कांग्रेसका सबै जसो शीर्ष नेता सहभागी हुँदा शेखर उपस्थित नहुनुलाई भने संशयको दृष्टिले हेरिएको थियो ।
यद्यपि पार्टीका सुदूरपश्चिम सभापति वीर बहादुर बलायरले भने मञ्चको बसाइले एकताको सन्देश दिएको बताए । एकताको सन्देश सुदूरपश्चिमबाट दिने प्रयास स्वरूप सबै नेताहरूलाई आमन्त्रण गरिएको उनले बताए । उनले भने ‘हामीले एकताको सन्देश सुदूरपश्चिमबाट दिनुपर्छ भन्ने ध्येयका साथ सम्पूर्ण पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरेका थियौ । सबैको उपस्थिति भयो ।’ उनले पार्टीभित्रका समस्या समाधान गर्न नसके पार्टी बचाउन गाह्रो हुने बताए ।
प्रदेश सम्मेलनमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सह–महामन्त्री जीवन परियार, सह–महामन्त्री महालक्ष्मी उपाध्याय, भीष्मराज आङदाम्वे, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री शशाङ्क कोइराला, कृष्ण सिटौला, केन्द्रीय सदस्य एनपी साउँद, दिलेन्द्र बडू लगायत एक दर्जन केन्द्रीय पुगेका छन् ।
अधिकांश शीर्ष नेता सुदूरपश्चिम आएपछि स्वागतका लागि सोमबार धनगढी विमानस्थलमा समेत ठुलो भिड लागेको थियो । धनगढीमा भइरहेको सम्मेलनमा सुदूरपश्चिमका नौ वटै जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
सम्बन्धीत समाचार
सच्चा मानेमा एक हुन सक्या खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत ल्याउँछ : देउवा
७ बुँदे सहमतिमा तलमाथि भए सबैभन्दा ठुलो दोष कांग्रेसले बोक्नुपर्छ : लेखक