फागुन २७ धनगढी
गृहमन्त्री रमेश लेखकले कैलालीस्थित प्रादेशिक आपतकालिन गोदामघरको हस्तान्त्रण गरेका छन । धनगढी उपमहानगरपालिका – १३ मा स्थित धनगढी बिमानस्थलमा रहेको आपतकालिन गोदामघर गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरेका हुन ।
आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, “सात प्रदेश मध्ये ६ प्रदेशको आपतकालिन गोदामघर रहेको छ, तर केहि आवश्यक सामाग्री झिक्न प्राधिकरण अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरीएको हो ।” उनले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने र बिदेशबाट समेत सामाग्री मगाउनु्पर्ने, बैदेशिक सहयोग तथा खरीद गरेर प्रदेशका आपतकालिन गोदामघरलाई बितरण गरीने समेत बताए ।
कार्यबिधिसँगै आवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख प्रदेश सरकारले गर्नुपर्ने उनले बताए । त्यसका साथै उनले बिपदको समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँगको समन्वयमा काम गर्न निर्देशन समेत दिए ।
त्यसैगरी, प्रदेशमा रहेका आपतकालिन गोदामघरमा बिपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बल सँगै खाद्यान्न औषधि लगायतका सामाग्री उपलब्ध हुने समेत गृहमन्त्री लेखकले बताएका छन ।