चैत ११ धनगढी
विराटनगरका अग्रज साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित तेस्रो कृति ‘समदृष्टि’ समालोचना सङ्ग्रहको विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा प्राज्ञ देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ तथा अग्रज साहित्यकारहरू प्रा.डा हरिहर भण्डारी, बलराम पोखरेल, प्रा.डा गोपाल दाहाल,प्रा.डा. मेदिनीप्रसाद शर्मा, एन.पी. आचार्य, आयोजक संस्थाका अध्यक्ष भूषण ढुङ्गेल लगायतले सामुहिक रूपमा पुस्तकको विमोचन गरेका थिए ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकहरू समेतको व्यक्तित्व र कृतित्वमाथि समालोचना गरिएको पोखरेलको समालोचना सङ्ग्रहको समीक्षा साहित्यकार हरि कट्टेलले गरेका थिए । उनले समालोचना गर्दा अरूले लेखेका कृतिको केस्रा– केस्रा केलाउनु पर्ने भएकोले यो सिर्जना कर्मको लागि सामान्य बौद्धिकताले नभ्याउने कुरा उल्लेख गर्दै ‘समदृष्टि’ समालोचनासङ्ग्रह उत्कृष्ट सङ्ग्रहको रूपमा आएको बताए । उनले साहित्यकार पोखरेल यस कृतिमार्फत नेपाली साहित्यको समालोचना विधामा दर्विलो खम्बाको रूपमा प्रवेश गरेको कुरा समेत उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. प्राज्ञ देवी नेपालले ‘समदृष्टि’ समालोचना सङ्ग्रह निकै बौद्धिक र गहन रूपमा आएकोले यसले पाठकहरूको मन जित्ने कुरामा आफूँ विश्वस्त रहेको बताए । त्यस्तै विशेष अतिथि प्राध्यापक कविराज न्यौपानेले ‘समदृष्टि’ निकै उत्कृष्ट समालोचना सङ्ग्रह भएको उल्लेख गर्दै यस क्षेत्रमा लेखकको कलम अविरल दौडिरहे मानक कृति सिर्जन गर्नसक्ने दक्षता समेत समालोचक पोखरेलमा देखिएको बताए ।