छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड : वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

चैत १५ धनगढी
कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले मनोयनको थप एक विधाका रुपमा वर्ष खेलाडी (पुरुष) को मनोनयन सार्वजनिक गरेको हो ।

छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली छन् । खोखोका पनेरु प्रथम खोखो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले चौँथो एशियाली खोखो च्याम्पिएनसिप, नेपाल–भारत खोखो टेस्ट म्याच र प्रथम खोखो विश्वकप गरी तीन वटा प्रतियोगितामा लगातार रजत पदक जितेको थियो ।

भलिबलका अर्जुन नेपाली श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । सहाना प्रधान भलिबल प्रतियोगितामा सुदूरपश्चिमलाई तेस्रो बनाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी प्रतियोगिताकै उत्कृष्ट ब्लकर बन्न पनि सफल भएका थिए ।

त्यस्तै करातेका आलम भुटानमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताउने खेलाडी हुन् । उनले १६औं एसिया प्यासिफिक सितुरियो कराँते च्याम्पीयनसीपमा नेपाललाई कास्य पदक जिताएका थिए ।

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले मञ्चले आठ विधामा अवार्ड प्रदान गर्ने बताए । उनले वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, सुदूरपश्चिम आइकन पुरुष, सुदूरपश्चिम आइकन महिला, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा मनोनयन हुने बताए ।

वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् ।

यस्तै, वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छन । यस्तै सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने बताइएको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने मञ्चका अध्यक्ष पाठकले बताए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ । धनगढी रंगशालामा हुने अवार्डमा विभिन्न साङ्गितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply