चैत २२ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिन पहिले सार्वजनिक भएको बिवादीत अडियोबारे प्रदेश सरकारले छानबिन गरिरहेको बताएका छन । शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
मुख्यमन्त्री शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीको बिवादित अडियो बारे सरकार छानबिनमा लागेको बताउदै शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नगर्ने बताए । ‘केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो’, मुख्यमन्त्री शाहले भनें, ‘भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।’
बिवादित अडियोको सन्दर्भमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढिरहेको भन्दै अनुसन्धान र छानबिनमा सरकारले सहयोग गर्ने मुख्यमन्त्रीले बताए । उनले दोषीले उन्मूक्ति नपाउने दाबी गरेका थिए । ‘अख्तियारले छानविन प्रकृया अगाडि बढाइसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय हुन्छ’ मुख्यमन्त्री शाहले भने । संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा बिश्वास व्यक्त गरेका थिए । साभार अत्तरिया अनलाइन