धनगढी चैत २३ – सुप्रिम सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चारवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म बसेको आकस्मिक सचिवालय बैठकले कानुनी प्रक्रिया र संगठनात्मक व्यवस्थापनमा केन्द्रित निर्णयहरू गरेको हो।
रास्वपाले अदालतको आदेशलाई सम्मान गर्ने तर संविधान र कानुनको आधारमा अर्को तहमा न्याय खोज्ने जनाएको छ। “अदालतको आदेश कानुनी प्रक्रियाको एक चरण हो, त्यसको सम्मान गर्दै हामी अगाडि बढ्छौं,” प्रवक्ता मनिष झाले जानकारी दिए।
पार्टीले लामिछानेको गिरफ्तारीको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रहरीको कार्यशैलीलाई गैरकानुनी र असंवेदनशील भनेको छ। बिना पुर्जी घरभित्र प्रवेश गरेर बेडरुममै पुर्जी लेखिएकोप्रति आपत्ति जनाइएको छ।
शनिबार चितवनमा आयोजना हुने जनसभा सफल बनाउन आग्रह गर्दै पार्टीले सभा शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ। सम्भावित अशान्ति रोक्न सदस्यहरूलाई संयमता र सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, पार्टी सञ्चालनका लागि उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णयलाई बैठकले अनुमोदन गरेको छ।