चैत २४ धनगढी
आज चैत्रशुक्ल नवमी अर्थात् रामनवमी पर्व मनाइँदै छ । हिन्दु धर्मावलम्बीहरूले भगवान् श्री रामको पूजाअर्चना गरी यो पर्व मनाउँने गरेका छन । भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन् । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ ।
उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ । रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवत लगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या (भारत) र ससुराली जनकपुर (नेपाल) क्षेत्रमा उत्सव चल्छ ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा श्रीराम नवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
यसैबिच सरकारले राम नवमीको अवसरमा सार्वजनिक विदा दिएको छ । आइतबारका लागि देशैभरी सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।